बागमती प्रदेशसभामा जिरो किलोमिटरको चर्चा



नेपाल समाचारपत्र, हेटौंडा

काठमाडौं तराई मधेस दु्रतमार्गको प्रस्थान विन्दु अर्थात् जिरो किलोमिटरको विषयमा खोकनाबासीले निरन्तर विरोध जनाउँदै आएका छन् । विरोधकै कारण अहिलेसम्म फास्टट्रयाकको काम खोकना खण्डमा हुन सकिरहेको छैन ।

पछिल्लो समय फास्ट ट्रयाकका लागि अधिग्रहण गरिएका आफ्ना भूमिमा खेती गर्न पाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरिरहेको छ । फास्टट्रयाकको प्रस्तावित बसपार्क खुडोल क्षेत्रमा खोकनाबासीले आ–आफ्नो खेतमा धान रोप्दै विरोध प्रदर्शन गरे । असार २० गतेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोगसमेत ग¥यो ।

यही विषयमा बागमती प्रदेशसभामा समेत सांसदले आवाज उठाएका छन् । आफ्नो खेत रोप्न गएका खोकनाका किसानलाई प्रहरीले दमन गरेको भन्दै यस्तो कार्य रोक्नुपर्ने सभामा आवाज उठेको हो ।

सांसद्हरुले विकासका नाममा जनतालाई सुकुम्बासी बनाउन नपाइने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सांसद्हरुले बुङ्मति र खोकनाजस्ता ऐतिहासिक भूमि मास्न नहुने, विकासको नाममा निकै कम मुआब्जा दिएर जनतालाई सुकुम्बासी बनाउन नहुनेमा जोड दिए ।

सांसद राजकाजी महर्जनले खोकनाबासीका मागबारे बेलैमा प्रदेशको ध्यानाकर्षण हुनु जरुरी रहेको औंल्याउनुभयो । विकास निर्माणका कारण खोकनाको १० हजार रोपनी उर्वर जमिन बिग्रिँदै गरेको भन्दै उहाँले त्यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनुभएको हो ।

सांसद विजया केसीले उर्वरभूमि र मौलिकता सखाप पारेर हुने विकासले हित नगर्ने बताउनुभयो । ‘बुङ्मति र खोकनाको आफ्नै इतिहास छ । विकासको नाममा निकै कम मुआब्जा दिएर जनतालाई सुकुम्बासी बनाउन पाइँदैन । त्यसकारण हाल त्यहाँ जारी आन्दोलनका पीडितको माग पूरा गर्नुको विकल्प छैन’ –उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्