पहिरो प्रभावित क्षेत्रमा खाद्य संकट



वासुदेव शर्मा, जाजरकोट

बाढी–पहिरो प्रभावित क्षेत्रमा खाद्यान्नको संकट आइपरेको छ । आफूसँग भएको खानेकुरा सकिएपछि विस्थापित परिवार समस्यामा परेका हुन् ।

गत असार २५ गते अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट प्रभावित बारेकोटबासी भोकभोकै बस्न थालेका छन् । बारेकोट गाउँपालिकाका विभिन्न स्थानका नागरिक बाढी–पहिरोका त्रासले गत असार २६ गतेदेखि घर छोडेर विस्थापित भएका थिए ।

कतिपय विद्यालयमा बसेका छन् भने कतिपय त्रिपाल हालेर जंगलभित्र सुरक्षित स्थानमा बसेका छन् । बारेकोटका करिब ६ सयभन्दा बढी परिवार विस्थापित छन् । आफूसँग भएको खाद्यान्न सकिँदै गएपछि किन्ने खाद्यान्नसमेत नपाउँदा विस्थापित भोकभोकै बस्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो । बारेकोटमा उत्पादन भएको अन्नले ५÷६ महिना मात्र पुग्छ ।

बारेकोटमा खाद्य समस्या समाधान गर्नका लागि नेपाल खाद्य संस्थानलाई चालू आर्थिक वर्षमा थपसहित ३ हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । चामल ढुवानीका लागि नेपाल सरकारले अनुदान दिँदै आएको भए पनि ठेकेदारले चामल ढुवानी नगर्दा समस्या आएको हो ।

वर्षेनी खाद्य संकट भइरहने बारेकोटमा करिब २० हजार बासिन्दाका लागि भनेर सरकाले स्थापना गरेको खाद्य डिपो एक महिलादेखि रित्तै छ ।

केन्द्र सरकार र प्रदेश सरकारको आशा गरेका नागरिकले प्रयाप्त खाद्यान्न नपाउँदा त्रिपालमुनि भोकभोकै बस्नुपरेको गुनासो गरेका छन् । बाढी–पहिरोको त्रासले विस्थापित भएर एकैठाउँमा ज्यान जोगाउन बसेका नागरिकमा कोरोनाको त्रास पनि उतिकै छ ।

प्रतिक्रिया दिनुहोस्