धनगढीमाईमा मुसहर वस्तीको घर निर्माण अधुरो, वडाध्यक्ष विरुद्ध प्रदर्शन



सुभेन्द्र दास, लहान ।
सिराहाको धनगढीमाई नगरपालिका–१२ नेवार टोल मुसहर बस्तीको उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदामाथि कुटपिट गरिएको छ । उपभोक्ता समितिका पदाधिकारीलाई झुक्याएर पैसा निकास गरेको विषयमा सोधपुछ गर्दा अध्यक्ष सदामाथि कुटपिट गरिएको हो ।

मुसहर वस्तीमा आठ वटा निर्माण भइरहेका छन् । घर निर्माणका लागि सामान तथा मजदुरको आपूर्ति गरिरहेका धनगढीमाई नगरपालिका–१३ भोर्लेनीका हरि मैनालीले उपभोक्ता समिति अध्यक्ष सदालाई कुटपिट गरेका हुन् ।

मैनालीले उपभोक्ता समितिका पदाधिकारीलाई झुक्याएर खाली चेकमा हस्ताक्षर गर्न लगाएका थिए । त्यही चेक प्रयोग गरेर रकम निकास गरेको थिए । त्यो थाहा पाएपछि स्थानीय वासिन्दाले उनलाई छलफलका लागि बोलाउन उपभोक्ता समिति अध्यक्ष सदालाई आग्रह गरेका थिए । त्यहिअनुसार, अध्यक्ष सदा शुक्रबार मैनालीलाई भेट्न उनको घर गएका थिए । ‘खाली चेकमा सही गराएर किन रकम झिक्नु भएको, उपभोक्ताहरुलाई जवाफ दिन गाउँमा हिंड्नुस् भनेको थिएँ, मुसहर भएर मेरै घरमा आएर धम्क्याउने भन्दै उनी र उनको छोरालाई कुटपिट गरे,’ अध्यक्ष सदाले भने ।

पभोक्ता समितिका अध्यक्ष नै कुटिएपछि शनिबार दिउँसो टोलमा स्थानीय मुसहरहरुले ‘दलित कुट्न पाइँदैन, कमिसनखोरी बन्द गर, झुक्याएर रकम झिक्नेलाई कारबाही गर’ भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुबीच सहमति गराउन वडाध्यक्ष राजु श्रेष्ठले शनिबार छलफल गर्न खोजेका थिए । तर, लम्साल छलफलमा नआएपछि कुनै सहमति बन्न नसकेको उपभोक्ता समितिका सचिव रामविलास सदाले बताए ।

झुक्याएर चेक लगेको उपभोक्ता समिति कोषाध्यक्ष मसिनी सदाले बताइन् । उनका अनुसार, ११ असारमा मैनालीको स्वामित्वमा रहेको त्रिदेव ट्रेड एन्ड पोल्ट्री सप्लायर्सको नाममा २४ लाख ४३ हजार तीन सय १५ रुपैयाँ सिभिल बैंकको चेक काटिएको थियो । हस्ताक्षर नमिल्ला भनेर दुइवटा खाली चेकमा पनि हस्ताक्षर गरेर लगेको उनले बताइन् । ‘पहिलेको चेक रद्द भयो भनेर फेरि ८ साउनमा अर्को चेक माग्यो,’ कोषाध्यक्ष सदाले भनिन्, ‘पुरानो चेकबुकमा बाँकी रहेको एउटा मात्र चेक सही गराएर दिए । फेरि बिग्रेला भन्दै पुनः अर्को चेकका लागि आफैं बैंकमा गएर नयाँ चेकबुक ल्याई एउटा खाली चेकमा सही गराएर लगेका थिए ।’ बैंकमा गएर बुझ्दा त्यहीबाट १९ लाख ५६ हजार पाँच सय ५९ रुपैयाँ झिकेको सदाले बताइन् ।

सामान आपूर्ति गरेका मैनाली भने प्राविधिकको मुल्यांकन अनुसार रकम लगेको बताए । ११ असार र ८ साउनमा गरी ४३ लाख ९९ हजार आठ सय ७४ रुपैयाँ भुक्तानी लिएको उनको भनाइ छ । ‘मैले निर्माण सामग्री उपलब्ध गराइदिए वापत्को रकम समितिले चेक दिएपछि बैंकबाट झिकेको हुँ’ -उनले भने ।

वडाध्यक्ष श्रेष्ठले घर निर्माणका लागि मैनालीले सामग्री आपूर्ति गरिदिएको बाहेक कहिले, कसरी कति रकमको चेक काटियो भन्ने विषयमा गाउँमा हल्ला भएपछि मात्र थाहा पाएको बताए । ‘निर्माणको काम उपभोक्ता समितिले नै गरेको हो, निर्माण सामग्रीको रकम कहाँ कति थियो, कसलाई कतिको चेक दिइयो, त्यसको विषयमा कसैले पनि भनेनन्’ वडाध्यक्ष श्रेष्ठले भने ।

तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँमा दुई कोठा, भान्सा, शौचालय, बरण्डासहित जस्ता हालेका आठ घर निर्माण गर्ने उपभोक्ता समितिसँग नगरपालिकाले सम्झौता गरेको थियो । त्यहिअनुसार, गत १६ माघमा शिलान्यास भएको थियो भने १६ जेठमा निर्माण सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्