विकास बजेट आधामात्रै खर्च



विनोदसिंह विष्ट, बैतडी
बैतडीमा संघीय सरकार तथा प्रदेश सरकार मातहतका विभिन्न कार्यालयको गत आर्थिक वर्षमा पनि विकास बजेट फ्रिज गएको छ ।

संघीय सरकार मातहतका कार्यालयको ९१ करोड ६७ लाख २६ हजारमध्ये ४५ करोड ३६ लाख ९२ हजार ८ सय मात्रै खर्च भएको छ । यो कुल बजेटको ४९.४९ प्रतिशत मात्रै हो । यसरी हेर्दा संघीय सरकार मातहतका कार्यालयको ५० प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा रहेका प्रदेश सरकार मातहतका कार्यालयको पनि पुँजीगत खर्च ७४.५५ प्रतिशत मात्रै भएको छ । प्रदेश सरकार मातहतका कार्यालयको कुल पुँजीगत बजेट २ अर्ब ५२ करोड ६९ लाख ३२ हजारमध्ये १ अर्ब ८८ करोड ३७ लाख ३१ हजार मात्रै खर्च भएको छ । यो कुल बजेट ७४.५५ प्रतिशत खर्च भएको लेखापाल भट्टले बताउनुभयो ।

संघीय सरकारको चालू खर्च ५ अर्ब २ करोड ५० लाख ३४ हजार ४ सय ५० रुपियाँ कुल बजेट रहेकोमा ४ अर्ब ७८ करोड २५ लाख ९५ हजार ८ सय ७८ रुपियाँ अर्थात् ९५. १८ प्रतिशत खर्च भएको छ । संघीय सरकारको चालू गत बजेटको २४ करोड २४ लाख ३८ हजार ५ सय ७२ रुपियाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको चालूतर्फ ८९ करोड ४९ लाख ५७ हजार ४ सय ९० रुपियाँ बजेट रहेकोमा ७३ करोड ३९ लाख ६२ हजार अर्थात् ८२ प्रतिशत खर्च भएको छ भने १६ करोड ९ लाख ९५ हजार ४ सय ४५ रुपियाँ फ्रिज भएको लेखापाल भट्टले बताउनुभयो ।

यो वर्ष लकडाउनका कारण बजेट खर्च हुन नसकेको कार्यालयहरूले दाबी गरेका छन् । तर, समयमै काम नहुँदा र असारमै मात्र बजेट सक्ने परिपाटीले प्रत्येक वर्ष विकास बजेट फ्रिज हुने गरेको नागरिकको गुनासो रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्