राखेप सदस्यसचिवमा ३ जनाको नाम सिफारिस



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवका लागि आवेदन दिएका २७ आवदेकमध्येबाट ३ जनाका नाम सिफरिस गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलियाको संयोजककत्वमा रहेको समितिले तीन जनाको नाम छनोट गरेको हो । सो नाम युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई बुधबार नै बुझाइएको हो।

ती तीन जना छनोट भएका आवेदक हुन् निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष लिलबहादुर थापा ।राखेप सदस्य सचिव भोलि नै टुंगो लाग्न सक्नेछ । बिहीबार मन्त्री परिषद्को बैठक बसेको खण्डमा संभवत सदस्य सचिव छनोट हुनेछ ।

पहिले नै सिलवालको आवेदनले उनी नै सदस्यसचिवमा फर्कने बलियो संभावना भएकोमा शीर्ष तीनमा परेपछि उनको सदस्य सचिव हुने लगभग तय भएको स्रोतले जनाएको छ । सिलवाल प्रधानमन्त्री केपी ओलीका निकटम व्यक्तिको रुपमा परिचित छन् ।

गत वर्षको असारमा सिलवाल राखेपको सदस्य सचिवमा नियुक्ति भएका थिए । उनी त्यतिबेला ओलीकै चाहनामा सो पदमा आएको भन्ने कुरा व्यापक चर्चा भएको थियो । खेलकुद विकास ऐन २०७७ को कार्यान्वयसँगै सिलवालसँगै तत्कालिन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए ।

१३औं सागको हिसाब प्रतियोगिता सम्पन्न भएको ३ महिनामा सार्वेजनिक गर्ने प्रतिबद्धता गरे पनि सिलवालले सो हिसाब सार्वजनिक असफल भएका छन् । तर पनि उनी फेरि सोही पदमा फर्कने हल्ला निकै चलिरहेको छ । थापा भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकटका मानिन्छन् । श्रेष्ठ भने कुनै राजीनितक रुपमा सक्रिय छैनन् ।

तीन जना छनोट हुनेमा एक महिला हुनुपर्ने शर्तका साथ भएकोमा श्रेष्ठलाई छानिएको हो । यदि महिला नेतृत्वलाई मौका दिने हो भने श्रेष्ठको पनि सदस्य सचिव हुने तय छ । यदि यसो भएमा राखेपको इतिहासमा पहिलो पटक कुनै महिला सो पदमा आसीन हुनेछ ।

अब हेर्न यही बाँकी छ कि कुनै राजनीतिको आडमा निवेदन दिने व्यक्तिले बाजी मार्नेछ । या कुनै राजनीतिसँग कुनै सम्बन्ध नै नभएको व्यक्तिलाई सदस्य सचिव बनाएर नयाँ नेपालमा नयाँ सोचका साथ अगाडि बढ्न तयार हुनेछ । यदि यसो गर्न सकिएमा राजनीतिक आडले पद आसीन गर्न खोज्नेहरु निरुत्साहित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्