एमसीसी स्वाधीनता र राष्ट्रिय एकताको बाधक



नेपाल समाचारपत्र, बुटवल

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको राष्ट्रिय हितविपरीत भएको भन्दै सम्झौताको विरोधमा रूपन्देहीको मणिग्राममा विरोध प्रदर्शन गरिएको छ ।

स्वतन्त्र नागरिक समूह, नेपालको आयोजनामा एमसीसी सम्झौताविरुद्व विरोध प्रदर्शन गरिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदमहादुर कार्कीले ओली सरकारले भित्राउन लागेको एमसीसी खारेज नभए देशको स्वाधीनता, एकता र अखण्डतामा आँच आउने बताउनुभयो ।

एमसीसीले सत्तापक्ष नेकपा, प्रतिपक्ष कांगे्रसलगायतका राजनीतिक दल र समाजलाई नै विभाजनमा ल्याएको बताउँंदै विकासको नाममा नेपाली जनतालाई भ्रममा पारेर ल्याउन लागिएको एमसीसीले विकास होइन विनाश गर्ने उहाँको दाबी छ ।

पूर्वराज्यमन्त्री प्रकाश चित्रकारले एमसीसी नेपालको हितमा नभएकाले पार्टी र जाती भन्दा माथि उठेर एमसीसीका विरुद्व एकजुट हुनुपर्ने बताउनुभयो । पूर्वसांसद विनोद पहाडीले कोशी, गण्डकी सम्झौता, महाकाली सन्धि बहुसंख्यक नेपालीले विरोध गर्दागर्दै पास गरिएकाले अहिले धोका भएको उल्लेख गर्दै एमसीसी पनि नेपालको लागि धोक्का हुने बताउनुभयो ।

युवा अभियान्ता नारायण नागिलाले अहिले नेपालमा एमसीसी ल्याउनु भनेको हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनु हो भन्नुभयो । कार्यक्रममा गणेश पाठक, सागर न्यौपाने लगायतका युवाहरुले बोल्दै एमसीसीले राष्ट्रिय स्वाधिनता, एकता र अखण्डतामाथि खलल पुराउने भएकाले एमसीसी संसदबाट पास नगराउन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्