उपत्यकाको ट्राफिक व्यवस्था प्रविधिमैत्री बनाउँछौं: एसएसपी ढकाल



  • भूपराज बस्याल, काठमाडौं

छोटो समयमै महानगरको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सफलता हासिल गर्नुभएका काठमाडौं महानगरीय ट्राफिक प्रमुख भीमप्रसाद ढकालले काठमाडौंको ट्राफिक व्यवस्था प्रविधिमैत्री बनाउने बताउनुभएको छ ।

काठमाडौं उपत्यकामा सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापनमा अब्बल सावित हुनुभएका उहाँले १० महिने कार्य अवधिमा ट्राफिक व्यवस्थापनमा दर्जनौं उत्कृष्ट सफल काम गरेर उदाहरणीय ट्राफिक प्रहरी अधिकृतका रूपमा आफूलाई प्रमाणित गरिसक्नु भएको छ ।

पछिल्लो समय उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठूलो समस्या रहेकामा यसलाई प्रविधिमैत्री बनाउन लागिपरेको उहाँले बताउनुभयो ।

महाशाखा आएलगत्तै ट्राफिक व्यवस्थालाई प्रविधिमैत्री बनाउन लागिपर्नु भएका ढकालले हालसम्म काठमाडौंका १८ स्थानमा ट्राफिक लाइट जडान गरी काम गर्नुभएको छ भने १७ ठाउँमा सीसी क्यामेरामार्फत ट्राफिक निगरानी गर्ने काम शुरू भएको छ ।

सीसी क्यामेरा नभएका ठाउँमा सीसी क्यामेरा जडान गरिएका गाडीमार्फत निगरानी गर्ने तयारी गरेको बताउँदै अब छिट्टै नै सवारी नियम उल्लंघन गर्नेको घरमा रसिद पुग्ने र जरिवाना पनि घरबाट बुझाउन सक्ने प्रविधिको विकास गर्न लागेको ढकालले बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सी जिङ पिङको सवारी सुरक्षामा आफ्नो कार्यकुशलता देखाइसक्नुभएको उहाँले हाल कोरोना भाइरस (कोभिड–१९) कोे लकडाउन अवधिमा पनि आफ्नो उत्कृष्ट कार्यकुशलता देखाइसक्नुभएको छ । यो लकडाउन अवधिमा सवारी पासको दुरुपयोग गर्ने ३ हजार ४ सय ६९ सवारीसाधनलाई कारबाही गरेको ढकालले बताउनुभयो ।

‘कहिले डुब्लिकेट पास त कहिले मिति परिवर्तन गरिएका पास त कहिले जुन कामका लागि पास लिइएको हो त्योभन्दा अन्य कामको लागि प्रयोग गरिएको पाइएको हुँदा त्यस्ता सवारीसाधनलाई कारबाही गरिएको हो ।’

उहाँले भन्नुभयो– ‘यसको अलावा लकडाउन अवधिभर लकडाउन उल्लंघन गर्ने १ लाख ४ हजार ५ सय ३४ सवारीसाधनलाई कारबाही गरिएको छ ।’

सवारीसाधनलाई कारबाही मात्रै होइन यो अवधिमा आपत्मा परेका नागरिकको सेवामा समेत २४सै घण्टा खटिनुभएका उहाँले लकडाउनका कारण आपत्मा परेका ८ हजार २३ जनालाई सहजीकरण गरेको जानकारी दिनुभयो ।

कोरोना भाइरसबाट जनतालाई जोगाउन विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत गर्नुभएका उहाँले उपत्यकामा १ सय ५३ ठाउँमा ट्राफिक पोस्ट, ४६ ठाउँमा संयुक्त पोस्ट र यसबाहेक रातिका लागि मात्रै ३९ ठाउँमा चेक पोस्ट राखेको जानकारी दिँदै कोरोना भाइसको उच्च सतर्कताका लागि सबै क्षेत्रलाई सजक बनाइएको जानकारी दिनुभयो ।

सार्वजनिक सवारीसाधनमा जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट आरक्षण सिट अनुगमन गर्न आफैं खटिनुभएका ढकालले आरक्षण सिट अनुगमन टोलीले ३ सय २५ वटा सवारीसाधन अनुगमन गरी १ सय १५ जनालाई कारबाही गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्