दाङको गडुवा र लालमटियामा भारी वर्षा मापन



न्युज अफ नेपाल, काठमाडौं ।
राप्ती नदी जलाधार दाङ, गडुवा र लालमटिया स्थित स्वचालित वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ। उक्त स्थान आसपासको राप्ती को स–साना सहायक नदीमा आकस्मिक बहाव हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले उक्त स्थानमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ । राप्तीको तल्लो तटिय क्षेत्रमा जल सतह बढ्ने तर सतर्कता भन्दा तलै हुने महाशाखाले जनाएको छ । त्यस्तै लमही आसपासका साना नदीमा आकास्मिक बहाव हुन सक्ने भएकोले दिउँसोसम्म सतर्कता अपनाउन भनेको छ । महाशाखाले समुदायमा एसएमएस मार्फत जानकारी पठाईएको छ ।

शनिबार विहानको मापन अनुसार कोशी, नारायणी, पश्चिम, राप्ती, बबई, कर्णाली र यसका केहि सहायक नदीमा बहाव बढ्दो क्रममा छ भने कन्काई, कमला, बागमती, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा छ तथा नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै रहेको छ ।

आज तिनाउखोला, कञ्चनखोला, बाणगंगा, अरुणखेला लगायत नवरपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, पाल्पा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, तनहुँ, रुकुम, दैलेख र आसपास भई बहने केही स–साना खोलाहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने जनाएको छ ।

इलाम, झापा, मोरङ, प्रदेश २ का जिल्लाहरु, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, गारखा, लमजुङ, स्याङजा, अर्घाखाँची, रोल्पा, प्यूठान, जाजरकोट, सल्यान, बर्दिया, सुर्खेत, डोटी र आसपास जिल्ला भई बहने स–साना खोलाहरुमा बहाव बढ्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्