मनकारी मेवेदरको बिलासी लाइफस्टाइल



कविरस शर्मा

केही समयअघि अमेरिकाको मिनियापोलिस शहरमा प्रहरीको ज्यादतीका कारण ज्यान गुमाएका ४६ बर्षीय जर्ज फ्लोएडको अन्तिम संस्कारको लागि ८८ हजार ५ सय डलर खर्च सहयोग गर्ने मनकारी ब्यक्ति हुन् फ्लोएड मेवेदर । खेल्दा होस् वा रिटायर्ड लाइफ, सधैं आफ्नो निजी जीवनका कारण चर्चामा रहने गर्छन् मेवेदर ।

केही वर्ष अघिसम्म विश्वकै सर्वाधिक धनी खेलाडीको गिन्तीको शीर्ष स्थान ओगट्ने उनी प्रोफेशनल बक्सिङ्गका अपराजित बक्सर पनि हुन् । सक्रिय खेलाडी जीवनमा खेलेका ५० वटै बाउट उनले जितेका छन् । त्यस्तै, विश्वप्रसिद्ध फोर्ब्स म्यागाजिनले जारी गर्ने सर्वाधिक धनी खेलाडी सूचीको शीर्षस्थानमा समेत उनी थुप्रै पटक सूचीकृत भइसकेका छन् ।

उनी ’द मनी म्यान’ को उपनामबाट समेत चर्चित छन् । प्रायः सधैंजसो घरमा जताततै नोटको बिट्टा छरिनेदेखि आफ्नो साथमा पैसा सहितको भरिभराउ ब्याग राख्ने हुनाले उनलाई यसो भनिएको हो । करीब साढे ६ हजार करोड नेट वर्थ भएका मेवेदरलाई आफ्नो बैंक ब्यालेन्स र नगदसँग धेरै नै लगाव पनि छ ।

केही वर्ष अघि मेवेदर आफूले खरिद गरेको नयाँ निजी जेट विमानका कारण चर्चामा आएका थिए । उनले सोही विमानबाट विश्व भ्रमण समेत गरेको हल्ला पनि चलेको थियो । त्यतिबेला उनले सामाजिक सञ्जालमार्फत् मेक्सिको, हंगकंग लगायतका देशहरु घुम्दै गरेका तस्वीरहरु भाइरल भएका थिए ।

उनले उक्त विमानमा टीएमटी भनेर लेखेका थिए । जसको अर्थ द मनी टिम हो । उनीसँग जी–५ निजी जेट विमान पनि छ । विमानमा सफर गर्दा उनी अफ्ना अंगरक्षकलाई साथमा राख्दैनन् । अंगरक्षकरु अर्को जेट विमानमा सफर गर्छन् । आफू सफर गर्ने विमानमा धेरै मान्छेलाई राख्न डराउने भएकाले उनले यसो गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएको थियो ।

बक्सिङ्ग लेजेन्ड मेवेदर करियरको सम्पूर्ण ५० फाइटमा अपराजित बने पनि अन्तिम दुई फाइट भने निकै चर्चित रह्यो । मेनी पाक्वेउसँग भएको ४ढऔं भिडन्तलाई फाइट अफ द सेन्चुरी बाट सम्बोधन गरिएको थियो । त्यस्तै, उनको अन्तिम फाइट चाँहि सर्वाधिक महँगो फाइट कहलियो ।

उक्त भिडन्त मेवेदरले आफ्नो बक्सिङ्ग करियरमा खेलेको सबैभन्दा महंगो भिडन्त पनि थियो । सन्यास लिएर पनि पुनः बक्सिङ्ग रिङ्गमा फर्केका उनले ५०औं भिडन्तमा मिक्स्ड मार्शल आर्ट्सका सुपरस्टार कोनोर मेकग्रेगोरलाई हराएका थिए । उक्त भिडन्त जितेपश्चात मेवेदरले १ सय मिलियन डलर हात पारेका थिए ।

शपिङ्गका सौखिन मेवेदर सधैं आफ्नो साथमा नगदको बिट्टाहरु राख्ने गर्छन् । आफ्नो निजी विमानमा पनि उनी थुप्रै पटक नोटको बिट्टासहित फोटोमा देखिने गर्छन् । उनीसँग थुप्रै सुविधा सम्पन्न कार पनि छन् । जसमध्ये लस भेगासको घरमा सबै सेतो रंगको गाडी राखेका छन् । यस्तै मियामीमा रहेको अर्को घरमा भने थुप्रै कालो रंगको सुविधा सम्पन्न गाडी पार्क गर्ने गर्छन् । कार संकलनको सौखिन उनीसंग करीब ४ करोड रुपैयां मूल्यको बेन्ट्ले कार पनि छ ।

जवाहरातका पनि सौखिन मेवेदरले एक पटक प्रयोग गरेको जुत्ता अर्को पटक लगाउँदैनन् । एकपटक लगाएपछि उनले आफ्नो जुत्ता स्टाफ सदस्यलाई दिने गर्छन् । उनी हरेक वर्ष ६ हजार ५ सय डलर आफ्नो बक्सर्स (हाफ पाइन्ट) मा खर्च गर्छन् । अनि त्यो पनि एकपटक प्रयोग गरेपछि लगाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्