बोल्ड र कमान्डिङ पनि हुन सक्नुपर्छ : कुञ्जना घिमिरे



मानिसलाई हँसाउन गाह्रो छ, रोएकाहरुलाई हँसाउन झन् गाह्रो छ । त्यही गाह्रो कामलाई आफ्नो करियरका रुपमा लिएर अघि बढिरहेकी छिन् कुञ्जना घिमिरे । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मार्फत सुन्तली उपनामले दर्शकका माझ परिचित कुञ्जना घिमिरेले रुप र हाउभाउ फेरेर फगत टेलिभिजनको पर्दाबाट दर्शक हँसाउने काम मात्र गरिनन्, धुर्मुसका रुपमा परिचित हास्य अभिनेता तथा सामाजिक अभियन्ता पति सीताराम कट्टेलसँगै काँधमा काँध जोड्दै राष्ट्रलाई पर्दा नागरिकको दायित्व के हुन्छ भनेर सच्चा नागरिकको उदाहरणसमेत प्रस्तुत गर्दै आएकी छिन् ।

पति सीतारामसँगको साथ र सहकार्यमा २०७२ को महाभूकम्पबाट विनाश भएको काभ्रेको बस्तीलाई पहरी एकीकृत बस्तीका रुपमा उठाउन शुरु गरेका सीताराम र कुञ्जनाका दम्पती त्यसयता धुर्मुस सुन्तली फाउन्डेसनमार्फत सामाजिक सेवामा लागिपरिरहेका छन् । नेपालमा भूकम्प जाँदा यो दम्पती कार्यक्रमका सिलसिलामा अमेरिकामा रहेको थियो । भूकम्पको खबर सुनेपछि कुञ्जनाले पति सीतारामलाई कार्यक्रम नै रद्द गरेर नेपाल फर्कन प्रस्ताव राखिन्, सीतारामले पनि स्वीकारे । नेपाल फर्केलगत्तै भूकम्प प्रभावित विभिन्न जिल्लामा पुगेर शुरुमा खाद्यान्न तथा त्रिपाल वितरण गरेका उनीहरुले पछि शौचालय निर्माण र त्यसपछि काभ्रेमा बस्ती निर्माण गरेका थिए । अमेरिकामा कार्यक्रम गरेबापत १६ लाख ५० हजार रुपियाँ लिएर उनीहरु बस्ती निर्माणमा जुटेका थिए । उनीहरुको कार्य देखेर देश–विदेशबाट सहयोग जुट्न थालेपछि भने अन्य परियोजना पनि शुरु गरेका थिए ।

एकीकृत नमुना पहरी बस्तीपश्चात् गिरानचौर बस्ती, सन्तपुर बस्ती, मुसहर बस्ती, वीर अस्पताल सफाइ परियोजना पूरा गरेर हाल रंगशाला निर्माणको अभियानमा भइरहँदा कुञ्जनाले आफ्ना शुभचिन्तकहरुको हौसला र साथको कारण यति ठूलो परियोजना शुरु गर्ने हौसला मिलेको बताइन् । ‘हाम्रो साथमा यति धेरै शुभचिन्तक हुनुहुन्छ कि उहाँहरुकै कारणले हामीलाई काम गर्ने उत्साह मिलिरहेको छ’, कुञ्जना सुनाउँछिन् । शुरुमा १६ महिने काखे छोरीलाई दिदीको साथमा छोडेर पतिसँगै बस्ती निर्माणमा जुटेकी कुञ्जना परिवारसँग बस्न नपाए पनि राष्ट्रको सेवा आफ्नो कर्तव्य हो भनेर लागिरहेको बताउँछिन् ।

‘छोरीलाई समय दिन नपाउँदा दुःख लाग्छ । उहाँ ९सीताराम० र म रंगशाला निर्माणको क्रममा एउटै ठाउँमा हुन्छौँ । तर पनि हाम्रो भेटघाट नै हुँदैन । उहाँ बिहान ४–५ बजे नै फिल्डमा जानुहुन्छ । म ९–१० बजे फिल्डमा जान्छु । उहाँ फिल्डको काम हेर्नुहुन्छ, म भेटघाटमा व्यस्त हुन्छु । त्यसपछि राति ९–१० बजे बल्ल भेट हुन्छ । यसले गर्दा व्यक्तिगत कुराकानी र घरसल्लाह पनि हुँदैन । अहिले हाम्रो लक्ष्य भनेको रंगशाला निर्माण गर्नु हो । यसमै लागिरहेका छौं’, उनले भनिन् । धुर्मुुस सुुन्तली फाउन्डेसनमार्पmत कुञ्जनाले सीतारामसँग मिलेर समाजका विभिन्न पक्षहरु महिला अधिकार, बालअधिकार, बालविवाहका साथै सानो उमेरमा हुने गर्भधारण, शिक्षा, गरिबी उन्मूलन, स्थायी विकास, स्वास्थ्य, सुरक्षित वासस्थान, खानेपानी र स्वच्छता, संस्कृति संरक्षण, मधेसी तथा दलितका मुद्दाहरू, वातावरणसहित विभिन्न क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।

कला क्षेत्रबाट ब्रेक लिएर ६ वर्षसम्म समाज सेवामा होमिएकी कुञ्जना हाल भने फिल्म सेन्टी भाइरसको निर्माण गर्दै अभिनय क्षेत्रमा फर्केकी छिन् । ‘धेरै मानिसले तपाईंहरु समाजसेवी मात्र होइन, कलाकार पनि हो भनेर कला क्षेत्रमा आउनुप¥यो भनेपछि हामी फिल्ममार्फत आएका हौँ’, उनले सुनाइन्, ‘समाजसेवा र फिल्म निर्माणका लागि समय व्यवस्थापन गर्न निकै गाह्रो थियो तर हामीले यी दुवै काम एकसाथ गरेका छौँ ।’

स्वास्थ्य तथा सौन्दर्यको हेरचाह तथा त्यसका लागि खर्च गर्न कन्जुस्याइँ गर्ने बानी आफूमा नभएको कुञ्जना बताउँछिन् । उनी भन्छिन्, ‘एसएलसी सकिएदेखि नै इन्डिपेन्डेन्ट भएकी हुँ । आफैं कमाउने भएपछि खर्च पनि गर्ने बानी भयो । अहिले पनि ४–५ वटा कम्पनीको ब्रान्ड एम्बेसडर छु । विभिन्न विज्ञापनबाट पनि आम्दानी हुन्छ । चाहिने खर्च गर्छु र बचत पनि गर्छु । मलाई लाग्छ, कमाउनु ठूलो कुरा होइन, त्यसलाई व्यवस्थित गरेर खर्च गर्नु र बचाउनुचाहिँ ठूलो कुरा हो । शुरु–शुरुमा सौन्दर्य सामग्रीमा नजानेर खर्च गर्थें । मन परेपछि किनिहाल्ने बानी थियो । तर ती सामान आफ्नो अनुहारमा सुट हुन्छ कि हुँदैन भन्ने कुरामा ध्यान नदिँदा ती सामानले साइड इफेक्ट गर्थे र खेर जान्थे । पछिल्लो समय भने यस्ता कुरामा सजग बन्दै गएँ । अहिले त्यस्तो समस्या छैन ।’

व्यस्त दिनचर्याका बाबजुद पछिल्लो समय शरीरलाई पनि ध्यान दिएर फिट देखिएकी उनी आफ्नो फिटनेसको राज खोल्छिन् । ‘पहिले मैले फिटनेसमा ध्यान दिएकी थिइनँ । तर धेरै जनाले तपाईं समाजसेवी मात्र होइन, सेलिब्रेटी पनि हो । शरीरलाई मेन्टेन गर्नुपर्छ भन्नुभएपछि मलाई पनि फिल भयो । शरीर फिट रह्यो भने मानिस स्वस्थ पनि हुन्छ, सुुन्दर पनि देखिन्छ । अहिले यो कुरामा ध्यान दिन थालेकी छु’, उनले सुनाइन्, ‘फिट रहनको लागि जिम नै धाएको होइन, जिम जाने समय पनि कहाँ छ र रु अहिले चितवनमा रहेको र यहाँ हिँड्ने ठाउँ पनि पर्याप्त भएको कारण बिहान केही बेर मर्निङ वाक गर्छु । त्यस्तै स्वस्थ र फिट रहनका लागि खानपानमा अलि ध्यान दिन्छु । पानी धेरै पिउँछु । त्यसै कारण पहिलेभन्दा फिट देखिएकी हँु ।’

कुञ्जनाको बुझाइमा सौन्दर्यको परिभाषा समयअनुसार फेरिँदै गइरहेको छ । ‘सौन्दर्य भनेको नारीको गहना हो भन्ने कुरा भगवान्कै पालादेखि सुनिदै आएको हो । नारीको लामो केश, केशमा फूल सजाएको, लज्जालु नारी राम्रा हुन्छन् भन्ने थियो । तर समाजको विकाससँगै सुन्दरताको परिभाषा फेरिँदै आएको पाइन्छ । अहिले नारी सुन्दर र सुशील भएर मात्र पुग्दैन, बोल्ड र कमान्डिङ पनि हुन सक्नुपर्छ । हेर्दाखेरि राम्री देखिने नारी सक्षम हुन पनि आवश्यक छ ।’

प्रस्तुति : रश्मी थापा (साधना मासिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्