आफूमाथि लगाइएको आरोेप स्पष्ट पार्न मन्त्री विश्वकर्माको आग्रह



फिरोज राजोपाध्याय, काठमाडौं ।

गएको शुक्रबार सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट १७ करोड लिएको आफुलाई आरोप लगाएकोमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सांसद यादवलाई स्पष्ट पार्न भन्नुभएको छ ।

सोमबार सदनमा खेलकुदको बजेटबारे बोल्ने क्रममा मन्त्री विश्वकर्माले सांसद यादवको आरोपलाई स्पष्ट पार्न भन्नुभएको हो । उहाँले भन्नुभयो—’ उहाँको आशय के हो ? प्रष्ट पार्नुपर्‍यो, यो गम्भीर आरोप हो, म एक स्वच्छ छवि भएको व्यक्तिमाथि यस्तो आरोप लगाउँदा मलाई निकै दुःखित बनाएको छ । मैले अहिलेसम्म एन्फा वा कसैबाट १ रुपियाँ पनि लिएको छैन । यस्तो मान्छेलाई कतैबाट रकम लिएको भन्नु निकै गम्भीर विषय बनेको छ । यसप्रति सम्बन्धीत माननीयज्युले नै स्पष्ट पार्नुपर्‍यो । ‘

माननीयजीले भन्नुभएको एउटा कुरा चाहि सही भएको मन्त्री विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो —मलाई एन्फाले बडो माया गरेको छ भन्ने उहाँको कुरा चाहिँ सहि हो । एन्फाले मात्रै होइन, मलाई खेल क्षेत्रका सबैले माया गर्नुहुन्छ । खेल क्षेत्रका अग्रज, खेलाडी, संघ पदाधिकारी, खेलपत्रकार, सबैले मलाई माया गर्नुहुन्छ । म निष्ठाका साथ काममा केन्द्रीत हुनेगरी सँधै मेहनत गर्ने मान्छे हुँ । यस्तो व्यक्तिले त्यस्तो आरोप सुन्न पर्दा छवि नै धुल्मल्याउने खोज्नुभएको लाग्यो ।

खेलमा बजेट कम

मन्त्री विश्वकर्माले आगामी आर्थिक वर्ष २०७७/ ७८ बजेटअन्तर्गत खेलकुदमा कम बजेट आएकोले खेलसम्बन्धी नयाँ योजना कुनै नराखेको बताउनुभयो । अर्थ मन्त्री युवराज खतिवडाले खेलकुदतर्फ २ अर्ब ३६ करोड रकम विनियोजन गर्नुभएको हो ।

मन्त्री विश्वकर्माले भन्नुभयो—’खेलकुद क्षेत्रमा विगतदेखि नै कम बजेट विनियोजन हुँदै आएको छ । यस पटक पनि कूल बजेटको शून्य दशमलव १६ प्रतिशत रकम खेल क्षेत्रमा विनियोजन भएको छ । १३औं सागमा नेपाली खेलले पाएको कीर्तिमान सफलताको माहौलको आधारमा विगतको दाँँजोमा धेरै बजेट विनियोजन हुने आसा गरिएको थियो । दुर्भाग्य त्यसो हुन सकेन, यसो हुनुको कारण महामारी भाइरस कोरोनालाई दोष गएको छ ।’

बजेट न्युन भए पनि युवा तथा खेलकुद मन्त्रालयले रोडम्याप बनाएर जाने मन्त्री विश्वकर्माले सदनमा जानकारी गराउनुभयो । खेल क्षेत्रका लागि पूर्वाधार निर्माणतर्फ बजेट जम्मा ५८ करोड १९ लाख रकम विनियोजन भएको छ । त्यसमध्ये४० करोड रकम स्थानीय तहमा खेल ग्राम निर्माणका लागि रहेको छ । बाँकी १८ करोड ९८ लाख रकम खेलको पूर्वाधार निर्माणको लागि छुट्याएको मन्त्री विश्वकर्माले बताउनुभयो ।

यही बाँकी १८ करोड ९८ लाख रकमबाट मन्त्रालयले विगतका वर्षहरुमा शुरु भएका आठौं राष्ट्रिय खेलकुदका निर्माणधीन प्रदेश ५ का पूर्वाधार सम्पन्न गर्न, १३औं सागका खेलकुदका निर्माणाधीन काठमाडौं र पोखराका पूर्वाधार सम्पन्न गर्न, आगामी फागुनमा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीका विभिन्न ११ वटा जिल्लामा भौतिक संरचना निर्माण गर्न, खेल शून्य रहेको कर्णाली प्रदेशमा खेलकुदका भौतिक संरचना निर्माण गर्ने कार्य गर्नुपर्ने उहाँले बाध्यता भएको बताउनुभयो ।

यसैगरी काठमाडौंका मूलपानी क्रिकेट रंगशालालगायत देशका विभिन्न जिल्लामा विगतदेखि निर्माण कार्य शुरु भएका निर्माणाधीन नौ वटा क्रिकेट रंगशालाको निर्माणलाई निरन्तरता दिनु पर्ने चुनौती रहेको बताउनुभयो । सातै प्रदेशमा रंगशाला कभर्ड हल बनाउन पनि मन्त्रालयले कार्य गर्नु पर्ने बताउनुभयो । इटहरी, जनकपुर, कर्णालीलगायतमा रंगशाला बन्दैछन् ।

समस्या समाधान भएको

खेलकुद मन्त्रालय सम्हालेको ३ महिनामै काठमाडौंको मूलपानीस्थित क्रिकेट रंगशालाको जग्गााको समस्या र विवाद समाधान गरेको उहाँले भन्नुभयो । त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) माथि लागेको प्रतिबन्ध हटाउन पनि उहाँले प्रमुख भुमिका निभाएको बताउनुभयो । त्यस्तै खेलसंघमा भएका विवादलाई सुल्झाएर लोकतान्त्रिक विधिमा चल्न पनि उहाँले योगदान दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्