लकडाउनमा पनि औषधी आपूर्ति ‘डाउन’ हुन दिएका छैनौं



मृगेन्द्रमेहर श्रेष्ठ
अध्यक्ष, औषधी व्यवसायी संघ

मुलुकले लकडाउन भोगेको अढाइ महिना भइसक्यो । आम नागरिकले आजसम्म आधारभूत वस्तुको अभाव खासै भोग्नुपरेको छैन । आधारभूत वस्तुमा सर्वाधिक चासोको विषय बन्नपुगेको छ औषधीको आपूर्ति । नियमित खानु वा लाउनुपर्ने औषधी नपाइने पो हो कि भन्ने चिन्ता खासगरी दीर्घरोगीहरूले भोगिरहेको देखिन्छ । यहाँ प्रस्तुत छ, कोराना संक्रमण र लकडाउनका कारण मानव शरीरमा लाग्ने विभिन्न खालको रोगको उपचारका लागि आवश्यक पर्ने औषधी आपूर्तिमा के–कस्ता समस्या छन् भन्ने बारेमा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार संक्षेप:

कोरोना संक्रमणका कारण नेपालमा पनि लकडाउन छ । यस अवस्थामा नेपालमा भएको औषधीले कति समय धान्छ ?
यही अवस्था चलिरहने हो भने एक महिनाका लागि पुग्ने औषधीको मौज्दात नेपालसँग छ । धेरै लामो समयसम्म जाने हो भने सीसीयू, आईसीयूमा प्रयोग हुने औषधीहरू, खोपलगायतका महत्वपूर्ण औषधीको अभाव हुनेछ । जस्तै आईभीफ्युलमा प्रयोग हुने, डायलासिसका लागि आवश्यक पर्ने फ्युडहरूको अभाव हुन्छ । अरूको हकमा हाललाई आत्तिहाल्नुपर्ने अवस्था छैन । तर लकडाउन लम्बिँदै जाने हो भने अन्य औषधी पनि अभाव हुनसक्छ ।

देशकै उत्पादनले कुन–कुन औषधी कति धान्न सक्छ र आपूर्तिको व्यवस्था कसरी भइरहेको छ ?
लाइफ सेभिङ, भ्याक्सिनजस्ता औषधीहरू नेपालले बाहिरबाट मगाउनुपर्छ । अरू मुटुसम्बन्धी, रक्तचापका औषधीहरू, प्यारासिटामल, कफसिरफ, मानसिक उपचारका औषधीहरूको नेपालमा उत्पादन हुन्छ । तर, उत्पादकहरू कच्चापदार्थको अभावमा काम रोकिने बताइरहेका छन् ।

उत्पादकहरूसँग पनि त्यही एक डेढ महिनाका लागि उत्पादन गर्ने स्टक छ । त्यसपछि औषधी अभाव हुने अवस्था सृजना हुनसक्छ । यस अवस्थाका बारेमा उत्पादकहरूले सरकारलाई जानकारी पनि गराइसकेका छन् । नेपालमा उत्पादित औषधीले नेपालको कुल आपूर्ति वा प्रयोगमा ४० प्रतिशतभन्दा माथि नै धानेको छ र ५५ देखि ६० प्रतिशत औषधीका लागि विदेशमै निर्भर हुनुपर्छ । त्यसमा पनि ९० प्रतिशत त भारतमै निर्मर छ ।

औषधीका लागि आवश्यक पर्ने कच्चा पदार्थ विशेष गरी कुन मुलुकबाट भित्र्याइन्छ ?
कच्चा पदार्थ, बोतल, सिलहरू भारतबाट ल्याउँछौं । थप कच्चा पदार्थ भारत र चीन दुवै मुलुकबाट ल्याउँछौं । तर अहिले भारतमा पनि लकडाउनका कारण ढुवानीको समस्या छ । त्यहाँ पनि औषधी उत्पादक कम्पनीहरू केही खुले पनि औषधी र कच्चा पदार्थ आवश्यकतानुसार आएको अवस्था छैन । त्यसैले कठिन अवस्था छ भन्ने जानकारी उत्पादकहरूले गराउँदै आएका छन् ।

तपाईं विक्रेता संघको केन्द्रीय अध्यक्षको नाताले लकडाउनको अवधिमा औषधी आपूर्र्तिका लागि व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
तपाईंले एकदम राम्रो कुरा उठान गर्नुभयो । हामीलाई लोकल ढुवानीमा निकै समस्या परेको थियो । काठमाडौंबाट विराटनगर, वीरगन्ज र वीरगन्जबाट जनकपुर पुर्याउन ढुवानी सेवा सबै बन्द भएको अवस्था थियो । पछिल्लो समय केही खुलेको भन्ने सुनेको छु । एक–दुईवटाले अलिअलि काम पनि गरेका छन् । तर यहाँ सामान राख्ने र सामान निकाल्ने लोडरहरूको अभावका कारणले गर्दा ढुवानी सेवामा अप्ठ्यारो भएको अवस्था छ । अर्को समस्या भनेको औषधी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म व्यवसायीहरूले पुर्याउँदै आएको अवस्थामा यतिबेला गाउ“–गाउँसम्म पु¥याउन कठिन भएको छ ।

यसअघि आफैले कसरी पुर्याउनुहुन्थ्यो त ?
लकडाउन पहिला लोकल ढुवानीमार्फत पुर्याउँदै आएका थियौं । अहिले लोकल गाडी नचलेकाले मोटरसाइकलमा औषधी बोकेर पुँयाउन सकिने अवस्था पनि छैन । यसले गर्दा दुर्गम क्षेत्र गाउँ–गाउामा औषधी पुर्याउन सकेको अवस्था छैन ।

भ्याक्सिनको आपूर्ति अभावको कुरा गर्नुभयो, यसलाई त शीत भण्डारण गर्नुपर्छ, त्योचाहिँ कसरी गर्नुभएको छ नि, अनि व्यवस्थापन राम्रो नहुँदा कस्तो असर परिरहेको छ ?

यसमा पक्कै पनि असर परेको छ । सबैभन्दा पहिला भ्याक्सिन भारतबाट वायुसेवामार्फत नै ल्याउने हो । अहिले सेवा बन्द छ । भ्याक्सिनलाई २४सै घण्टा कोलचेनमा राख्नुपर्छ अर्थात् शीत भण्डारण गर्नुपर्छ । कोलचेन मेन्टेन गर्नैपर्छ । यदि त्यस्तो भएन भने औषधीले जुन काम गर्नुपर्ने हो त्यो गर्दैन ।

अहिले भारतीय कम्पनीको नेपालको नजिकको डिपो पटनाबाट ल्याउन पहल गरेका छौं । पटनाको डिपोबाट कोलचेन मेन्टेन गरेर नेपालसम्म उहाँहरूकै गाडीबाट पुर्याइदिनुस् भन्ने आग्रह गरेका छौं । त्यसमा भ्याक्सिन, इन्सुलिन नभई नहुने औषधीका विषयमा उहाँहरू सकारात्मक देखिनुभएको छ । यस्तो भयो भने अभाव हुँदैन । हाम्रो प्रयास जारी छ ।

अहिलेसम्म आइरहेको औषधीको व्यवस्थापन कसरी मिलाइरहनुभएको छ ?

अहिलेसम्म पहिला ल्याएकै औषधी केही मौज्दात थियो । अहिले स्टक कम हुँदै गएको अवस्था छ । अहिले इन्सुलेन स्टक नभएको अवस्था छ । इन्सुलेन दिनदिनै लगाउनुपर्ने भएकाले बिक्री–वितरण भइसक्यो । नया“ भित्र्याउने कोसिस जारी छ ।

मिर्गौलाका बिरामी अहिलेको अवस्थामा प्रत्यारोपणमा जान सकेका छैनन् र डायलासिसमै छन् । यस समयमा यस्ता बिरामीको आवश्यक औषधीको व्यवस्थापन कसरी गर्ने ?
डायलासिसका बेला आवश्यक पर्ने पानी आईभीफ्युलको अभावै भएको अवस्था छ । समस्याको न्यूनीकरणका लागि सरकारसँग छलफल भइरहेको छ । समस्याको सम्बोधन भएको छैन । अर्को एउटा समस्या हेभारिन इन्जेक्सन जुन डायलासिस गर्दा प्रयोग गर्नुपर्ने हुन्छ, त्यसको पनि कमी भएको छ । यद्यपि आपूर्ति व्यवस्थापनका लागि पहल भइरहेको छ ।

औषधी अभाव हुन नदिनका लागि नेपाल औषधी व्यवस्था विभागले कस्तो भूमिका खेलिरहेको छ ?
सरकार अर्थात् औषधी व्यवस्था विभागले सहजीकरणको भूमिका निर्वाह गर्दै आउनुभएको छ । यस समयमा औषधी व्यवस्था विभागले राम्रै भूमिका खेलेको महसुस गरेका छौं । तर परिस्थितिजन्य समस्या निराकरण गर्न विभागलाई पनि सहज छैन ।

यतिबेला बिरामीलाई औषधी अभाव हुन दिन्नौं ढुक्क भएर बस्नोस् भनेर आश्वस्त पार्ने आधार केही छन् ?
औषधीका लागि आत्तिनुपर्दैन, हामी व्यवस्थापनमा जुटेका छौं । औषधीको अभाव हुन दिदैनौं । आवश्वस्त हुनुहोस् ।

प्रतिक्रिया दिनुहोस्