बेजिङ (चीन) ।
चीनको राजधानी बेजिङमा सघीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब पचास जना सगरमाथा आरोही सम्मानित भएका छन् ।

७३औँ सगरमाथा दिवसको अवसरमा यहाँस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा ती आरोही सम्मानित भएका हुन् । पूर्व सभामुख ईन्दिरा राना मगर र नेपाली राजदूताबासकी कार्यवहाक राजदूत रोशन खनालले २९ चिनियाँ र २४ नेपाली आरोहीहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
नेपालका पर्वतीय पर्यटनको प्रवर्द्धन तथा नेपाली र चिनियाँ पर्वतारोहण तथा पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रायोजक कैशास गियर तथा सहयोगी संस्थाहरु रुपमा नेपाल पर्वतारोहण संघ र साइनो नेपाल कल्चर एण्ड टुरिजमलाई प्रमोशन सोसाइटीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कार्यवाहक राजदूत खनालले सगरमाथाको महत्व, साहसिक पर्यटनको भावना तथा विश्व पर्वतारोहण समुदायको केन्द्रका रूपमा नेपालको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले यस्ता कार्यक्रमले नेपाल–चीन जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पाले नेपाल–चीन पर्यटन सहकार्यलाई अझ गहिरो बनाउनुपर्ने आवश्यकता औँल्यउनुभयो । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन प्रवर्द्धनका लागि दुई देशबीच संयुक्त पहल आवश्यक रहेको बताउनुभयो ।
कैलासकी संस्थापक चु हाईयानले चीन र नेपालका उद्यमी साझेदारहरूसँग हातेमालो गरेर पर्वतीय पथप्रदर्शकहरूको उत्थान एवम् पर्वतीय अन्वेषणका लागि सुरक्षित, व्यावसायिक र स्थिर भविष्य निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।
नेपाली दूतावासका काउन्स‘लर विवेक रिजालले नेपालका पर्यटकीय गन्तव्यहरूको परिचय समेटिएको प्रस्तुति दिनुभएको थियो । नेपालका कीर्तिमानी आरोही लाक्पा डेण्डी शेर्पा र चिनियाँ आरोहीद्वय चाङ माओलिङ र लोरिकाशीले सगरमाथा आरोहणको अनुभव साझा गरेका थिए । कार्यक्रमस्थलमा नेपालका पर्यटकीय गन्तब्यहरु स्थलको तस्विरहरूको प्रदर्शनीसमेत गरिएको थियो ।
कार्यक्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि, विभिन्न मुलुकका कूटनीतिज्ञ, चिनियाँ पर्यटन व्यवसायी तथा नेपाली समुदायका सदस्यसहित करिब २०० जनाको सहभागिता रहेको थियो ।
नेपालबाट नेपाल पर्वतारोहण संघ, आरोहण सञ्चालक संघ, सगरमाथा आरोही संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका साथै आरोहण र पदमार्गसम्बन्धी दर्जन बढी कम्पनीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमकै अवसरमा नेपाल र चीनका पर्यटन उद्यमीबीच सहकार्य विस्तार गर्ने उदेश्यले व्यवसायी–व्यवसायी नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो ।











प्रतिक्रिया