आजदेखी उपत्यकाका सम्पूर्ण पसल खुल्ला,सरकारले अवरोध गरे सामना गर्छौं : उपाध्यक्ष सेढाईं



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौंका व्यवसायीहरुले बिहीबारदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय एकतर्फी रुपमा खुल्ला गरेका छन् ।
साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल र व्यवसाय खुला गर्ने निर्णय गरेसँगै विहिबारदेखी उपत्यकाभरका पसल तथा व्यावसाय खुल्ला गरिएको हो ।

महासंघले एक विज्ञप्ती जारी गरी नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता अपनाई पसल व्यावसाय खुल्ला गर्ने सिलसिलामा व्यवसायीहरुले सामाजिक दुरी कायम गर्ने, माक्स तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने बताएको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले हस्ताक्षर गरेको विज्ञप्तीमार्फत विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै ७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग व्यवसायहरु ठप्प हुँदा घरभाडा, बैंकको ब्याजदर र किस्ता, कर्मचारीको तलब भत्ता भुक्तानी गर्न समस्या भएको बन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघ अन्तरगरत संगठित राजधानीका सम्पूर्ण होलसेल तथा रिटेल पसलहरु बिहीबारदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्ने बताएको हो ।

लगातारको लकडाउने व्यापार व्यवसाय बाट पलायन मात्रै होइन रोजिरोटीनै गुम्ने खतरा देखिएपछि कुनै रहरले नभएर बाध्यताले व्यापार व्यवसाय खुल्ला गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ भने पसल तथा व्यवसाय खुल्ला गर्दा व्यवसायीलाई राज्यबाट बन्द गर्न दबाब आएमा अथवा बल प्रयोग गरेमा व्यवसायीले राज्यलाई तिर्ने कर घरभाडा बैंकको ब्याजदर र कर्मचारीको तलब भत्ताको समेत जिम्मा सरकारले लिनुपर्ने पनि विज्ञप्तिमार्फत् जनाएको छ ।

यस सन्दर्भमा हामीले महासंघको महिला उपाध्यक्ष रुक्मिणी सेढाईंलाई सम्पर्क गर्दा उनले बताइन् ः “हामीले व्यवसायलाई चलयमान बनाउँदै राज्यको अर्थतन्त्रलाई कसरी थप योगदान किन सकिन्छ भन्ने विषयमा गंभीरतासाथ बुधबार छलफल गरेका हौं ।

साना पसल तथा व्यवसाय निर्वाध रुपमा संचालनमा नआएसम्म आर्थिक गतिविधी नबढ्ने हुँदा एकातिर व्यवसायी र त्यहाँ कार्यरत कामदारहरुको रोजीरोटी गुम्ने कुरा, अर्कोतर्फ घरबहाल र बैंकका चर्का ब्याजका बीच सरकारले पनि कर तुरुन्तै तिर्नका लागि ताकेता गर्न लागेकाले व्यवसायीको जीवन निर्वाह नै हुन नसक्ने अवस्था आएपछि आज विहीबारबाट आधा दिन पसल तथा व्यावसाय संचालन गर्ने निष्कर्षमा पुगेका हौं ।

सरकार पनि हामी व्यवसायिहरुको समस्यामा जिम्मेवार अभिभावक बन्छ भन्नेमा हामी आशावादी छौं ।” फेरी उनले थपिन्, “हामीले कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं । व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको हामी पालना गर्छाैँ ।

लगातारको लकडाउनले व्ययसायीको सामान केरुङमा अड्केको छ । घरभाडा, बैंकको किस्ता, ब्याजको मिटर लगातार बढिरहेको छ । यो अवस्थामा सरकारले कर तिर्न उर्दी जारी गर्नु सट्टामा पूर्ण रूपमा लकडाउन खुलेपछि १५ र २० दिनको समय उपलब्ध गराएर कर तिर्न भनेको भए सहज हुन्थ्यो, कर उठाउने सरकारको शैली र समय ठिक भएन ।

व्यवसायीहरु एकातिर व्यापार ठप्प हुँदा आम्दानी नहुने तर खर्च बढ्ने समस्यामा पिल्सिंदा सरकारले कर तिर्न ताकेता गरिरहेको तर लकडाउन खोल्ने बिषयमा कुनै तादरुकता नदेखाए पछि महासंघको सचिवालय बैठक बसी बिहीबार बिहानदेखि हाम्रा सम्पूर्ण व्यवसाय सञ्चालन गर्ने निर्णयले निर्णय भए बमोजिम व्यवसाय सञ्चालनको गरिएको हो ।

त्यसको जानकारी स्थानीय सरकार, वडा कार्यलय र प्रहरी प्रशासनलाई समेत गराएका छौँ । आज विहान खोलिएका केही पसलहरुमा पनि बेला बेलामा प्रहरी आएर बन्द गर्नको लागि ताकेता गरेको पनि केही व्यावसायिहरुले बताएका छन् । अवस्था यस्तै रहने र पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न तारान्तार दबाव आयो वा बल प्रयोग भएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने हुन्छ । सरकारले धरपकड गर्न खोजे देशभरका व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रन्छौं ।”

यसैबीच बुधवार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका करिव ३० जना विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको छलफलमा जनस्वास्थ्यविद्, अर्थविद लगायतको टोलीले मोडालिटी परिवर्तन गरेर अघि बढ्न सुझाव दिएको बताइएको छ । झन्डै ५ घण्टासम्म चलेको बैठकमा अधिकांश विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका हुन् ।

विज्ञहरुले कोरोना संक्रमणका विच कसरी अर्थतन्त्रलाई चलायमान बनाएर जान सकिन्छ भनेर सुझाव दिएसँगै सरकारमा पसल व्यावसायलाई खुल्ला गर्न थप दवाद सिर्जना भएको छ र आजै ४ बजे लकडाउनलाई खुकुलो बनाउने विषयमा मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्