गाउँपालिका भवनमा आगलागी,सबै कागजपत्र खरानी



न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरको बिकट कैलाश गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी भएको छ । आगलागीका कारण सबै सामान जलेर नष्ट भएको छ । जेनेरेटरबाट उत्पादित विद्युत् सर्ट हुँदा कार्यालयमा आगलागी भएको हो । गाउँपालिकाको वडा नम्बर–३, कालीकाटारमा रहेको भवनमा विहान करिब ११ बजे विद्युत् सर्ट हुँदा जलेर खरानी भएको छ । भवनमा रहेको कुनै पनि कागजपत्र झिक्न सकिएन ।

गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेको बेला ऊर्जा प्रणालीमा सर्ट भएको थियो । उक्त भवन २०७३ सालमा नेपाली सेनाले निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । प्रिफ्याबको १८ कोठे भवन आगलागी भएर सबै जलेर नष्ट भएको पालिका उपाध्यक्ष सुकुमाया थिङले बताउनुभयो ।

आगलागीबाट गाउँपालिकाका महत्वपूर्ण कागजपत्र, विभिन्न आयोजना निर्माणको सम्झौता आदि सामान निकाल्न पाइएन । आगलागीपछि कुनै सामान झिक्न नसकिएको पालिका टंक अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । कार्यालयमा जेनेरेटर र सोलारबाट विद्युत् उपलब्ध गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्