कोभिड–१९ विरुद्ध पत्रकार मञ्चलाई मारवाडी सेवा समितिद्वारा होमियाप्याथिक औषधि हस्तान्तरण



न्युज अफ नेपाल,काठमाण्डौं ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढिरहेका बेला मारवाडी सेवा समितिले नेपाल पत्रकार मञ्चलाई कोभिड–१९ को होमियोप्याथिक रोकथाम र उपचारका निम्ति ५ सय थान औषधि हस्तान्तरण गरेको छ । नेपाल पत्रकार मञ्चसँग आबद्ध पत्रकारहरुका लागि निःशुल्क वितरण गरिने उक्त होमियोप्याथिक औषधि मारवाडी सेवा समितिका कार्यवाहक अध्यक्ष श्रवणकुमार अग्रवालले नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गर्नुभयो ।

कोभिड–१९ का विरुद्धमा सचेतना अभिबृद्धि गर्ने कार्यमा अग्रभागमा क्रियाशील रहने पत्रकारलाई सुरक्षित राख्नु आफ्नो दायित्व भएको महसुस गरी उक्त औषधि निःशुल्क हस्तान्तरण गरिएको राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले बताउनुभयो ।

कोभिड–१९ विरुद्ध लड्नको निम्ति आन्तरिक रोग प्रतिरोधात्मक क्षमतालाई सक्रिय गराउन उक्त औषधि उपयोगी हुने प्राकृतिक होमियोप्याथिक चिकित्सक डा।बलराम केसीले जानकारी दिनुभयो ।

यस्तै, हाल विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमितहरुका निम्ति समेत प्रतिरोधात्मक क्षमता बृद्धि गर्न यसले सहयोग गरेको अर्का प्राकृतिक होमियोप्याथिक चिकित्सकद्वय डा।अम्बिका ज्ञवाली र विष्णुभक्त क्वाँले बताउनुभयो ।

मारवाडी सेवा समितिले कोभिड–१९ विरुद्धमा देशव्यापी अभियान चलाउने क्रममा हाल देशभरिका विभिन्न ३८ वटा शाखाबाट ५ लाख २५ हजार व्यक्तिमा पुग्ने गरी उक्त औषधि वितरण गरिसकेको समितिका महासचिव महावीर घिराईयाले जानकारी दिनुभयो ।

विश्वका विभिन्न मुलुकहरु लगायत छिमेकी मुलुक भारतमा समेत उक्त औषधिले कोभिड–१९ विरुद्धमा सकारात्मक परिणाम ल्याएको कारण नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत वैकल्पिक चिकित्सा विभागले आयुर्वेदिक तथा होमियोप्याथिक उपचार पद्धतिका निम्ति छुट्टै प्रोटोकल तयार गरी उक्त औषधिलाई मान्यता दिएका कारण हाल विभिन्न स्थानीय तहहरुले समेत यसको वितरण गर्न थालेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्