प्रहरी जवान मृत्यु प्रकरणमा पीडित परिवारद्वारा जाहेरी



सुर्खेत ।

प्रहरी जवान नरेन्द्र खड्काको हत्या भएको दाबीसहित पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । मृतकका दाजु यामबहादुर खड्काले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै आज जिल्ला प्रहरीमा जाहेरी दिनुभएको हो ।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–३ आग्रीगाउँस्थित देउली प्रहरी चौकीमा कार्यरत खड्का वैशाख ३० गते बिहान चौकी नजिकै मृतावस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयले तत्कालीन चौकी इञ्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० मानबहादुर आलेलाई जिम्मेवारीबाट मुक्त गरिसकेको छ । प्रदेश प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० राजेश बाँस्तोलाको नेतत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिसकेको छ ।

मृतकका आफन्तले चौकीभित्रै हत्या गरेको आशङ्का गरेका छन् । “असईसँग भएको पेस्तोल कसरी उहाँ ९मृतक० सँग पुग्यो, आत्महत्या नै भए मान्छे छटपटाउँछ, घटना प्रकृति हेर्दा आत्महत्याको कुनै आधार प्रमाण भेटिँदैन”, मृतककी श्रीमती कालिका रावत खड्काले गुनासो पोख्नुभयो, “प्रहरी चौकी इञ्चार्जसहित अरु प्रहरी कर्मचारीको पनि संलग्नता छ, प्रहरीले आफ्ना अन्य कर्मचारीलाई जोगाउन घटनालाई ढाकछोप गर्दैछ ।”

जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका इञ्चार्ज प्रहरी निरीक्षक भरत शाहले छानबिन समितिले घटनास्थल प्रकृति, शव परीक्षण रिर्पोट, प्रहरी कर्मचारीसँगको बयानका आधारमा अनुसन्धान गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्