अनलाइन शिक्षाको हाउगुजी



E-learning concept. Schooldesk and chalkboard on the laptop keyboard. 3d

न्युज अफ नेपाल, काठमाडौँ ।

अनलाइन विधिबाट तत्कालै पठनपाठनलाई अगाडि बढाउन नसकिने अनुभव सामुदायिक विद्यालयका शिक्षकहरुले गरेका छन् ।

शिक्षा पक्रकार सञ्जाल (इजोन) ले आज आयोजना गरेको अनलाइन अन्तरत्रियामा बोल्दै उनीहरुले अनलाइन शिक्षालाई हाउगुजीको संज्ञा दिए ।

त्रिपुरेश्वरको विश्व निकेतन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले कक्षा १०, ११ र १२ का विद्यार्थीलाई जुम एप्सको प्रयोग गरी पठनपाठन सुरु गरिएको बताउँदै भने, ‘सधैं प्रयोग हुने सूत्र र विषयको परिचयात्मक कक्षामात्र सञ्चालन गर्दै आएका छौँ । कक्षामा १५ देखि ३० प्रतिशतमात्र सहभागी हुने गरेका छन् । त्यसैले उत्साहजनक स्थिति छैन ।’

उनले आफ्ना विद्यार्थीहरुको ८० प्रतिशत उपत्यका बाहिरका रहेको र उनीहरु अधिकाँश इन्टरनेटको पहुँच बाहिर रहेको उल्लेख गर्दै केही दिनमा पाठ्यपुस्तक ल्याएर सम्भव भएका विद्यार्थी वा उनका अभिभावकलाई सामाजिक दूरी कायम गरी पाठ्यपुस्तक प्रदान गर्ने योजना बनाइएको बताए ।

रुपन्देहीको कञ्चन गाँउपालिकामा रहेको गजेडी माविका प्रधानाध्यापक रेश्मा वाग्लेले गणित र विज्ञान विषयको पठनपाठन अनलाइनबाट उपयुक्त नभएको बताइन् । उनले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि अनलाइनमाध्यमबाट पठनपाठन सम्भव भए पनि त्योभन्दा तल्लो तहका विद्यार्थीका लागि यो विधि उपयुक्त नभएको बताइन् ।

डिल्लीबजारको पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले म्यासेन्जरलाई पठनपाठनको माध्यमविधिका रुपमा प्रयोग गरिएको अनुभव सुनाइन् । ‘आधारभूत तहका विद्यार्थीलाई अनलाइन माध्यममा शिक्षा दिन समस्या छ । त्यसैले उनीहरुलाई फोनबाट परामर्श गर्ने गरेका छौँ” उनले भनिन्, ‘माध्यमिक तहका विद्यार्थीलाई म्यासेन्जरमा गृहकार्य दिने गरिएको छ । त्यसलाई हल गरेर विद्यार्थीले पठाउने गरेका छन् । कमै विद्यार्थी सहभागी भए पनि यो अहिलेका लागि ठूलो अवसर र चुनौति हो ।’

धनगढीको मनिहरास्थित सरस्वति माविका शिक्षक चन्द्रकला दवाडीले प्रवेशिका परीक्षाको तयारीमा रहेकाहरुका लागि विभिन्न सिकाइ सामग्री रहेको उल्लेख गर्दै विभिन्न वेवसाइट, एप्स आदिबाट पाठ्यसामग्री उपलब्ध भएको बताइन् । उनले सबै विद्यार्थीको पहुँचमा अनलाइन शिक्षा नभएको बताउँदै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले रेडियो सामग्री तयार गर्न आफूहरुलाई अवसर दिएको सुनाइन् ।

प्रविधिमन्त्री शिक्षक समाजको केन्द्रीय अध्यक्षसमेत रहेका पाल्पाको दर्लमडाँडा माविका शिक्षक भूपति बस्यालले अनलाइनमाध्यमबाट शिक्षा सम्भव भएको दावी गरे । उनले आफ्नो विद्यालयमा पनि कक्षा १०, ११ र १२ का विद्यार्थीलाई नै अनलाइनबाट पठनपाठन नियमित गरिएको चर्चा गर्दै आगामी वर्ष शिक्षकहरुलाई अनलाइन प्रशिक्षण गर्नका लागि सरकारले बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्