संकटमा स्थानीय सरकार



नवराज पथिक

साँझको आठ बज्न लागेको हुँदो हो । कोरोनाको त्रासले संस्त्रस्त मन्थली बजार चकमन्न भइसकेको थियो । हैन यी जनप्रनिधिहरु चाहिँ यो संकटको बेलामा के गरिरहेका छन् होला भन्ने मनमा कौतुहलता जाग्यो । झट्ट लाग्यो, एकपटक फोन पो गरिहेर्नुपर्यो । फोन त गर्ने तर कस–कसलाई गर्ने ? मनले सुझायो अलि पाको मन्छेलाई गर्नुप¥यो । त्यसपछि सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई फोन लगाएँ ।

जनमोर्चाको लामो राजनीतिबाट पार्टी एकीकरणपछि नेकपा माओवादी हुँदै नेकपामा आइपुगेका धावा लामा रामेछापका इमानदार र निष्ठावान् नेता मानिनुहुन्छ । उहाँको घर बेथानको डहु हो । बेथानतिर उहाँलाई सबैले बाजे भनेर बोलाउँदा रहेछन् । उमेरले उहाँ ६० त पक्कै काट्नुभयो होला । धावा लामालाई म दाइ भनेर सम्बोधन गर्ने गर्दछु ।

फोनको घण्टी बजाएँ । उहाँले फोन उठाउनुभयो । मैले सोधें, ‘दाइ कता हुनुहुन्छ ?’ उहाँले जवाफ दिनुभयो, ‘म त यहाँ भक्तपुरको ठिमी चोकमा पो उभिइरहेको छु ।’ मैले फेरि सोधें,‘यस्तो संक्रमण फैलिइरहेको बेलामा तपाईं बूढो मान्छे किन काठमाडौँ गएको ? अनि किन फेरि चोक–चोकमा घुमेर बसेको त ?’ धावा दाइको जवाफ थियो, ‘यो बन्दाबन्दीले गर्दा गाउँका मान्छे काठमाडौँमा बिचल्लीमा परे । खानै नपाउने अवस्था आयो । घरबेटीहरुको पनि कचकच हुन लाग्यो, हामीलाई जसरी पनि गाउँ लगिदिनुप¥योभनेर गनगन गर्न लागे । म त गाउँका बिचल्लीमा परेका मान्छे पो लिन आएको ।’

मैले फेरि सोधें,‘अनि यस्तो बेलामा गाउँका मान्छे के गरी ल्याउनुहुन्छ त ?’ उहाँले भन्नुभयो,‘पालिकाको तर्फबाट १८ वटा गाडी रिजर्भ गरेको छु । गाडी उताबाट दिउँसै आएका । प्रहरीले काभ्रे भन्ज्याङमा लामो समय रोकिदिएछ । सबैतिर भनसुन गरेर अहिले भर्खर त्यहाँबाट गाडी छुटे । अब गाडी आएपछि गाउँका मान्छेहरुलाई गाडीमा हालेर गाउँ लिएर आउँछु ।’

भक्तपुरको पेप्सिकोलामा कोरोनाको संक्रमण भएका बिरामी फेला परेपछि काठमाडौँ र भक्तपुर क्षेत्रमा एकखालको त्रास फैलिएको थियो । कोरोनाले कुन बेला कसलाई समात्ने हो र ज्यान लिने हो, ठेगान छैन ।

यस्तो बेलामा पनि गाउँमा सुरक्षितरुपमा बसेको, त्यसमाथि सुगर र प्रेसरको रोगी, उमेरले ६० काटेकोमान्छे गाउँबाट आफ्ना अलपत्र परेका नागरिक खोज्दै काठमाडौँ पुग्नु जनप्रनिधिहरुले काम गरेनन् वा गरेका छैनन् भन्नेको लागि राम्रै जवाफ भएजस्तो लाग्यो मलाई । अहिले यो जिम्मेवारीमा कुनै सरकारी अधिकारी हुन्थे भने बाहिर निस्कियो कि मर्ने बाँच्ने ठेगान नभएको अवस्थामा आफ्ना नागरिकको यसैगरी आफैं आएर उद्धार गरेर लैजान्थे होलान् त ?

त्यसको लगत्तै उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारलाई फोन गरें । उमाकुण्ड रामेछापको सबैभन्दा उत्तरमा पर्ने गाउँपालिका हो । जिल्लाको दुर्गम स्थानमा रहेको सो गाउँपालिकाबाट जिल्ला सदरमुकाम मन्थली आउन मात्रै गाडीमा नै ६ देखि ७ घण्टा लाग्छ ।

उमाकुण्डका अध्यक्षलाई पनि प्रश्न सुनापतिका अध्यक्षलाई जस्तै थियो, ‘कहाँ हुनुहुन्छ ?’ उहाँले जवाफ दिनुभयो, ‘गाउँका मान्छे काठमाडौँमा अलपत्र परे, त्यसैले म त गाडी लिएर लिन काठमाडौँ पो हिँडेको ।’ पछि थाहा पाएँ, उहाँले पनि काठमाडौँमा पालिकावासीहरुलाई खोजेर जम्मा गरी१ हजार १सयभन्दा बढी स्थानीयलाई गाउँ ल्याउनुभएछ ।
अझ खाँडादेवी गाउँपालिका–६ माकादुमका वडाध्यक्ष पुष्कर कार्की त हातमा माकादुम लेखेको प्लेकार्ड बोकेर काठमाडौं र भक्तपुरका

चोक र गल्ली–गल्लीमा आफ्ना गाउँका मान्छे खोज्दै हिँडेको सामाचार विभिन्न सञ्चारमाध्यममा हेर्न र पढ्न पाइयो ।
यी त केही प्रतिनिधिमूलक घटना हुन् । यसरी भक्तपुरका चोक–चोकमा रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेका जनप्रतिनिधिहरु आफ्ना नागरिकलाई खोज्दै भौंतारिएका फोटा र समाचार सञ्चारमाध्यममा बाक्लै आए ।

यो उनीहरुले प्रचारमा आउनको लागि मात्र पक्कै गरेका हैनन् होला । आफ्नो ज्यानलाई नै जोखिममा राखेर उनीहरुले प्रचारमा आउनकै लागि यस्तो काम गरेका होलान् भनेर अन्दाज गर्नु त्यति न्यायोचित हुँदैन । सरकारको अवाश्यकता भनेकै संकटको बेलामा त होनि, अघिपछि त सबैले आ–आफ्नो गरेर खाएकै छन् नि ।

बन्दाबन्दी एक महिनाभन्दा पनि बढी समय लम्बिएपछि काठमाडौँमा काम गरी बस्ने निम्नवर्गका मानिसहरु तथा विद्यार्थीहरु भोकभोकै पर्ने अवस्था आयो । केन्द्र सरकारले जो जहाँ छन् त्यहीँ राख्ने त भन्यो तर उनीहरुको व्यवस्थापनमा ध्यान दिन सकेन ।

जसले गर्दा गाउँका मानिसहरु एकखालको विद्रोह गरेर शहरबाट हिँडेरै भने पनि घर जाने भनी झोला–कुम्ला बोकेर निस्किए । यसरी विद्रोहमा निस्किएका निम्न र निम्नमध्यमवर्गीय मानिसलाई केन्द्र सरकारले थेग्न सकेन । अनि आफ्ना नागरिकहरु लालाबाला च्यापेर कुम्लोकुटुरो बोकी पैदल हिँडेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले टुलुटुलु हेरेर बस्न सकेनन् । त्यसैले उनीहरुले जोखिम मोलेरै भए पनि शहर पुगेर नागरिकको उद्धार गरे । के यस्तो बेलामा अहिले स्थानीय सरकार नभएको भए यो कुरा सम्भव थियो ? खैर यसका अन्य प्रभावको पाटोमा छुट्टै बहस हुन सक्ला ।

कोरोना संक्रमणको नियन्त्रण तथा व्यवस्थापनको लागि स्थानीय तहका जनप्रतिनिधिहरु अहिले जुन हिसाबले खटेका छन्, यसले नागरिकलाई साँच्चै सरकार भएको अनुभूति दिलाएको छ । गाउँ–गाउँमा एकान्त बास (क्वारेन्टिन) निर्माणको काममा जनप्रतिनिधि आफैं खटेका छन् ।

स्थानीयलाई सचेत बनाउन साबुन र माक्सदेखि दैनिक गुजारा चलाउनको लागि खाद्यान्नसमेत बोकेर उनीहरु नागरिकको घरघरमा पुगेका छन् । यति बेला यदि निर्वाचित निकाय नभएको भए कत्ति गाह्रो हुन्थ्यो होला ? २०७२ सालमा आएको विनाशकारी भूकम्पको समयमा जनप्रतिनिधि नहुँदा कत्ति धेरै असजिलो सामना गर्नुप¥यो । पछि निर्वाचित भएर जनप्रतिनिधि आएपछि त्यो असहज अवस्थालाई कति सजिलै सम्हाले र सहज बनाए । यसलाई हामीले यत्ति चाँडै बिर्सन हुँदैन ।

सतर्कता आवश्यक

शहरका मानिसहरुलाई गाउँ फर्काउँदा गाउँ फर्कन पाएका र उनीहरुका परिवार जति खुशी भएका छन् त्यतिनै गाउँका मानिसहरु त्रसित पनि भएका छन् । जनप्रतिनिधिहरुले हिरो पल्टिएर गाउँमा मान्छे ल्याउँदा संक्रमण फैलने भयो भनेर आलोचना पनि भइरहेको छ । विश्वमा राजा–महाराजा र मन्त्री–प्रधानमन्त्रीलाई समेत नछाडेको कोरोनाले हाम्रो जस्तो विकोन्मुख मुलकका नागरिकलाई छाड्ने त कुरै आउँदैन ।

त्यसैले हामीले सुरक्षा सतर्कता अनाएनौँ भने ठूलो दुर्घटनामा पर्न सक्छौँ । यति बेला ‘भोकले मर्नुभन्दा रोगले मर्नु ठीक’ भन्ने एकथरी अतिवादी सोचका मानिहरुको हाबी देखिएको छ भने ‘जो जहाँछन् बरु खान नपाएर मरुन् तर अन्त लानुहुँदैन’ भन्ने अर्काथरी अतिवादीहरु देखिएका छन् । हामीले यी दुवै अतिवादको विरोध गर्नुपर्छ । यस्तो संकटको बेलामा कुनै पनि नागरिक कुनै पनि कारणले मर्नुहुँदैन भनेर सबैले लाग्न आवश्यक छ ।

शहरका मानिस गाउँमा नल्याइएको भए उनीहरु भोकभोकै मर्ने अवस्था आउन सक्थ्यो । त्यसैलेउनीहरुलाई गाउँ ल्याइयो ।तर अब उनीहरुबाट गाउँका मानिसलाई संक्रमण फैलन सक्ने डर त्यत्तिकै छ ।यदि गाउँमा संक्रमण फैलियो भने यसको अपजश स्थानीय जनप्रतिनिधिलाई जानेछ ।

त्यसैले शहरबाट गाउँ आएकाहरुले कम्तीमा तीन हप्तासम्म आफ्नै घरमा एकान्तबास बस्न आवश्यक छ ।हाम्रा गाउँका घरहरु प्राकृतिकरुपमा नै एकान्त बासमा बस्नयोग्य छन् । एउटाघरदेखि अर्काे घरसम्मको दूरी फिटमा हैन मिटरमा नै नाप्दा पनि काफी पुग्ने छन् । यस्तो बेला समान्य लापरबाहीले पनि ठूलो दुर्घटना हुन सक्ने भएकोले सबैले सचेतता र संयममता अपनाउन आवश्यक छ । निर्वाचित जनप्रनिधिले त सतर्कता र सचेतता अझ बढाउनुपर्ने देखिन्छ । अन्यथा कुनै गाउँमा संक्रमण देखियो भने त्यसको सबै अपजश जनप्रतिनिधिको थाप्लोमा आउनेवाला छ ।

गाउँ छाड्नै नपर्ने वातावरण बनाऊँ

यो बन्दाबन्दीले के देखायो भने, निम्न–मध्यम र निम्नवर्गका मानिसहरुको लागि शहर कहिल्यै मित्र बन्न सक्दैन । सहज अवस्थामा कमाउन शहर गए पनि उनीहरुले अलिकति असहज हुनेबित्तिकै गाउँ फर्कनै पर्छ । त्यसो हो भने अब निम्न–मध्यम र निम्नवर्गका मानिसहरुलाई गाउँमै बस्ने गरी किन योजना नबनाउने ।त्यसैले अब सबै स्थानीय तहले कृषि, पशुपालन र कृषिमा आधारित उद्योगहरु सञ्चालनमा ल्याउनुपर्छ ।

स्थानीय उत्पादनमा आधारित घरेलु तथा साना उद्योगहरु स्थापना गरी रोजगारीकै लागि शहर पस्नेलाई गाउँमै रोजगारीको वातारण बनाउन सकेत गाउँका मानिसलाई शहर जानुपर्ने बाध्यता पनि हुँदैन, स्थानीय सरकारलाई आफ्ना नागरिकको सुरक्षाको चिन्ता पनि भएन । हामीसँग पर्याप्त जमिन छ ।

देशमामात्र हैन विश्व बजारमा समेत जानसक्ने खाद्यान्न, फलफूल, मसला र नगदेबाली उत्पादन हुने हावापानी छ । भैंसीदेखि चौंरीसम्म, बाख्रादेखि च्याङ्ग्रासम्म, अस्ट्रिजदेखि कालिजसम्म फस्टाउने हावापानी यही मुलुकमा छ । अब स्थानीय सरकारको ध्यान यस्ता व्यवसाय र उद्योग प्रवद्र्धनमा जानुपर्छ । त्यसो भयो भने नेपाली पनि सुखी हुन्छन् अनि हाम्रा गाउँ पनि समृद्ध हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्