आरडीटी परीक्षणमा पोजेटिभ, पीसीआरमा नेगेटिभ



न्युज हफ नेपाल, हेटौंडा ।

मकवानपुरको भीमफेदीमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ देखिएका एक पुरुषको पीसीआरमा नेगेटिभ देखिएको छ । ती व्यक्ति भीमफेदी गाउँपालिकाका कर्मचारी हुन् ।

राजविराज घर भएका उनी सोमबार गाउँपालिका आएका थिए । करिब २८ वर्षीय उनको भीमफेदी गाउँपालिकाको स्वास्थ्य केन्द्रमा भएको परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले सोमबार दुई जनाको आरडीटी परीक्षण गरेको थियो । जसमध्ये उनको रिपोर्ट एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएको थियो ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले गरेको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ देखिएको हो । गाउँपालिकाका कर्मचारीमा एन्टिबडी पोजेटिभ देखिएपछि गाउँपालिकामा उच्च सतर्कता अपनाएर गाउँलाई शिल गरिएको थियो ।

आरडीटी पोजेटिभ देखिएका उनलाई हेटौंडा–४ को कर्रामा रहेको आइसोलेसनमा राखिएको थियो । एन्टिबडी पोजेटिभ देखिएपछि गाउँमा थप सतर्कता अपनाएर ती व्यक्तिको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा पठाइएको थियो ।

छिमेकी जिल्ला बारा, पर्सा, रौतहट र चितवनमा कोरोना संक्रमित भेटिएका कारण मकवानपुरमा थप सचेतता अपनाइएको छ । स्थानीय तहका स्वास्थ्यकर्मीले विदेशबाट फर्किएका र अन्य जिल्लाबाट आएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छन् । सोही क्रममा शंकास्पद् देखिए स्वाब संकलन गरी पीसीआरसमेत भइरहेको छ ।

हालसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३ सय २२, थाहा नगरपालिकामा ५५, मकवानपुर गढी गाउँपालिकामा ७७, बागमती गाउँपालिकामा ३८, कैलाश गाउँपालिकामा ३९, मनहरी गाउँपालिकामा ४९, इन्द्रसरोवर गाउँपालिकामा १५, भीमफेदी गाउँपालिकामा ४८, बकैया गाउँपालिकामा २२ र राक्सिराङ गाउँपालिकामा ९ जनाको आरडीटी परीक्षण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्