थिमि वृत्तबाट एसपी कोईरालाको बिदाई



न्युज अफ नेपाल, भक्तपुर ।

प्रहरी नायब उपरीषक(डिएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा हुनु भएका महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख शान्तिराज कोइराला ससम्मान बिदा भएका छन् ।

प्रहरी नायव उपरीक्षकको रुपमा वृत्त प्रमुख रहँदा कोइरालाले थालेका सकारात्मक कार्यको प्रशंसा गर्दै ठिमी र भक्तपुरबासीले उनलाई विदा गरेका छन् । प्रहरी उपरीक्षकमा बढुवा भएका कोइरालालाई आइतबारमात्रै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिन्हले सुशोभित गरेका थिए ।

गृह मन्त्रालयको सचिवस्तरको निर्णयले १८ बैशाख, ०७७ मा कोइरालासहित २४ जना डिएसपीलाई एसपीमा बढुवा गरेको थियो । बढुवा भएपछि एसपी कोइराला भक्तपुरबाट विदाई भएका हुन् ।एसपी कोइरालालाई महानगरीय प्रहरी वृत्त ठिमी, प्रहरी परिसर भक्तपुर, मध्यपुरठिमी नगरपालिका, जिल्ला प्रशासन कार्यालय,सामुदायिक सेवा केन्द्र गठ्ठाघर लगायतले आगामी दिनमा समेत प्रगतिको शुभकामना व्यक्त गर्दै विदाई गरेका छन् ।

एसपी कोइरालालाई मेयर मदनसुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, भक्तपुर परिसरका एसपी सविन प्रधान, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नेशनल मिडिया सेण्टरका अध्यक्ष पेशल आचार्य लगायतले आगामी कार्यकालको सफलताकालागि शुभकामना दिएका छन् ।

ठिमी वृत्तमा प्रमुख रहँदा कोइरालाले थुपै्र काम गरे । नेपाल प्रहरीले गर्ने नियमित कामबाहेक कोइरालाको नेतृत्वमा ठिमी वृत्तले स्मरण गरिरहने कार्यहरु समेत सुरु भएका छन् ।वृत्त प्रमुख भएर ठिमी आएपछि कोइरालाले चाडवाडमा हुने चोरी नियन्त्रण गर्न वृत्तचित्र निर्माण, टोल टोलमा प्रदर्शन गर्ने र चोरी नियन्त्रण गर्ने अभियान चलाए । जसको सकारात्मक प्रभाव ठिमीका क्षेत्रका बासिन्दाले महसुस गरे । उनले प्रहरी वृत्त अन्तर्गत नै प्रहरी परिवारका लागि आवास भवन निर्माण सुरु गरेका छन् ।

यस्तै, प्रहरी मेस सुधार गरी काठमाडौं उपत्यकामै पहिलो र नमुना प्रहरी कार्यालयको रुपमा प्रशंसासमेत पाए । कोइरालाकै नेतृत्वमा ठिमी प्रहरीले समुदाय–प्रहरी साझेदारीकार्यक्रमअन्तर्गत मोटरसाइकल, ब्रेथलाइजर लगायत सडक सुरक्षा सामाग्री लिएर सडक सुरक्षास्तर सुधार गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–६, कुण्डोलमा नेपाल प्रहरीका लागि परिवार आवास भवन निर्माण सुरु भएको छ । स्थानीयबासीकै सक्रियतामा प्रहरी परिवार आवास भवन निर्माण सुरु भएको हो । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास गरेको भवनकालागि नगरपालिकाले बजेट समेत दिएको छ ।

एस पी कोईरालाको प्रहरी प्रधान कार्यालय नक्साल अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा बढुवा भई सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्