पुष्प व्यवसायबारे ई-कार्यशाला



अर्जुन विष्ट,काठमाडौं ।

नेपालका प्रथम वनस्पतिविद् स्व. प्रयागराज पाण्डेको शतवार्षिकी कार्यक्रमको अवसरमा नेपालका प्रथम बोटनिष्ट प्रयाग राज पाण्डे फाउण्डेशनद्वारा आयोजित पूर्व निधौरित “नेपालमा पुष्प व्यवसाय” गोष्ठी वन्दावन्दीको कारण दुईदिने ई-कार्यशालाका रुपमा सम्पन्न भएको छ । फाउण्डेशनका संस्थापक अध्यक्ष मधुसुदन बिष्टले सहजकर्ताको रुपमा सञ्चालन गर्नु भएको सो कार्यशाला फाउण्डेशनका अध्यक्ष बिमलराज पाण्डेले स्वागत मन्तव्य राख्नु भएपछि वनस्पति विभागका पूर्व वैज्ञानिक अधिकृत कुवेरजंग मल्लले कार्यपत्र प्रस्तुत गर्नुभएपछि दुईदिनसम्म सञ्चालन थियो ।

दुवैदिनको सत्रको अध्यक्षता गर्नु हुंदै फाउण्डेशनका अध्यक्ष तथा अर्थविद् बिमल राज पाण्डेले कोभिड—१९ का कारण दिनानुदिन अनलाइनबाट काम गर्ने शैलीमा परिवर्तन आएकोले फाउण्डेशनले यसलाई आत्मसाथ गरेको उल्लेख गर्नुहुंदै नेपालको वनस्पति क्षेत्रको खानीको रुपमा काठमाडौंबाट ८ कि.मि. दक्षिणमा अवस्थित गोदावरीलाई लिन सकिने, यहां विभिन्न प्रजातिका फूल, सुनाखरी, पुतली, चरा, प्राकृतिक जंगल, जंगली जनावर, ओखर, ऐंसेलु, लिची, किरा फ्टा्यांग्रा भएकाले यसलाई “पृथ्वीको स्वर्ग” को नामले समेत पुकारिने वताउनु भयो ।

नेपालको हिमालय क्षेत्रमा पाइने सुनाखरी तथा कतिपय महत्वपूर्ण वानस्पतिक तथा औषधिय गुण भएका विरुवाहरु विदेशका विभिन्न मुलुकमा चोरी निकासी भैरहेकोमा उहांले त्यसलाई तुरुन्त नियन्त्रण गर्न सरकारी निकायको गहिरो ध्यानाकर्षण समेत गराउनु भएको छ ।  नेपालको कुल ग्राहस्थ उत्पादनको १४ प्रतिशत योगदान वनस्पति क्षेत्रको रहेको वताउंदै यो क्षेत्रको प्रवद्र्धन हुनुपर्ने वताउनुभयो । नेपालमा ६ हजार फूल फुल्ने वनस्पति छन् भने फुल नफुल्ने १० हजार प्रजातिका वनस्पति र त्यस्तै ७ सय भन्दा धेरै प्रजातिका जडिवुटी उपलव्ध भएको समेत जानकारी गराउनु भयो ।

कार्यपत्रमा नेपालमा पुष्प व्यवसायको हालसम्मको विकास क्रम, पुष्प खेती, नर्सरी व्यवस्थापन, ल्याण्डस्केपिंग र बगैंचा स्थापना वारे उल्लेख गरिएको छ । तालीम, अनुसन्धान र व्यवसायिक पक्षमा कार्यपत्रले जोड दिएको छ । फ्लोरिकल्चर एसोसियसन नेपालले हालसम्म आफ्नो सीमित स्रोत र साधनका वावजूद सिकारु, इच्छुक व्यक्ति, नर्सरी व्यवस्थापन, पुष्प साजसज्जा, पुष्प खेती, सुनाखरी खेती, हरितगृह व्यवस्थापन तथा पुष्प निर्यात विषयमा तालीम प्रदान गर्दै आइरहेको कार्यपत्र प्रस्तोता मल्लले उल्लेख गर्नुभयो ।

कार्यशालाका सहजकर्ता वनस्पति विभागका पूर्व महानिर्देशक तथा फाउण्डेशनका संस्थापक अध्यक्ष मधुसुदन बिष्टले कूल ८३ जना सहभागिमध्ये देशबाट ७८ जना र विदेशबाट पांचजनाको सहभागिता रहेको जानकारी दिनुहुंदै १३ जना सहभागिले आफ्नो घरको बगैंचा र सजाइएको फूलको तस्वीरहरु पोष्ट गरेकोमा उत्कृष्ट तस्वीर शतवार्षिकी स्मारिकामा प्रकाशित हुने उल्लेख गर्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्ने सहभागिहरुले जंगली फूलहरु, धार्मिक महत्वका बोट विरुवा, अर्गानिक खेती प्रणालीको विकास, वंशानुगत पुष्प खेती, फ्लोरिकल्चर एसोसियसन संग सम्बन्ध विस्तार, सेवा र लागतको दिशामा व्यापारिक नर्सरी र व्यक्तिगत नर्सरीवीच सम्बन्ध विस्तार, पुष्प व्यवसाय विस्तारका लागि तालीमको अपरिहार्यता, फाउण्डेशनका सदस्यहरु रहेका आआफ्ना क्षेत्रका समुदायलाई लक्षित गरी पुष्प व्यवसाय तथा अर्गानिक खेतीको विकासका लागि पहल गर्ने, फाउण्डेशनका सदस्यहरु वीच विरुवा आदान प्रदानको कार्यक्रम सञ्चालन गर्ने, देशका विभिन्न शैक्षिक संस्थाहरुमा पुष्प व्यवसाय सम्बन्धी अतिरिक्त पाठ्यक्रमहरु समावेश गर्न पहल गर्ने, समुदायमा जानकारी नभएका व्यक्तिहरुलाई पुष्प वारे आधारभूत चेतना जागृत गराउने खालका कार्यक्रम सञ्चालन गर्न सकिए यस व्यवसायलाई काफी मात्रामा अगाडि बढाउन मद्धत मिल्ने सल्लाह तथा सुझाव प्राप्त भएको सहजकर्ता बिष्टले स्पष्ट पार्नु भएको छ ।

पुष्प व्यवसाय तथा अर्गानिक खेतीलाई मद्धत पुर्याउने कार्यलाई फाउण्डेशनले संस्थागत विकासका लागि आन्तरिकरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गर्दै सो अनुगमनका लागि कुमार कसजु श्रेष्ठको अध्यक्षतामा कुवेरजंग मल्ल, लोकनाथ पाठक र अर्जुन बिष्ट सदस्य भएको एक समिति समेत गठन गरेको छ ।

(लेखक : मिडिया प्वाइन्टका संस्थापक तथा बोटविरुवाको महत्वमा विशेष चासो राख्ने व्यक्ति हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्