विश्वकप विजेता टोलीका हन्टरको निधन



लन्डन, (एजेन्सी) ।

फिफा विश्वकपको उपाधि पहिलो पटक जित्दा इंग्लिश टोलीका महत्वपूर्ण सदस्य रहेका नोर्मन हन्टरको कोरोना संक्रमणका कारण निधन भएको छ ।

सन् १९६६ मा इंग्ल्यान्डको घरेलु मैदानमा आयोजना भएको फिफा विश्वकपको उपाधि आयोजकलाई दिलाउने टोलीका सदस्य हन्टरको शुक्रबार ७६ वर्षको उमेरमा उपचारको क्रममा अस्पतालमा निधन भएको हो। लिड्स यूनाइटेडले आफ्ना पूर्व खेलाडी हन्टरको निधन भएको एक विज्ञप्तिमार्फत् जानकारी गराएको हो। अप्रिलको पहिलो साता उनी कोरोनाबाट संक्रमित भएका थिए। सन् १९७४ मा प्रोफेसनल फुटबलर्स एसोसिएसन अवार्ड (पीएफए) का पहिलो विजेता बनेका हन्टरले लिड्स यूनाइटेडबाट १५ वर्ष खेलेको थिए।

त्यस क्रममा उनले ७ सय २६ म्याच खेल्दै क्लबकै लेजेन्डको उपमा पाएका थिए। उनी टोलीमा रहंदा उनको क्लबले सन् १९६९ र १९७४ मा फर्स्ट डिभिजन टाईटल, १९७२ मा इन्टर सिटीज फेयर्स कप दुई पटक र एफए कप तथा लिग कपको उपाधि समान एक–एक पटक उचालेको थियो।

प्रतिक्रिया दिनुहोस्