आईएफएफले सबै खेलाडीको कोरोना परीक्षण गर्ने



लन्डन, (एजेन्सी) ।

इटालियन फुटबल फेडेरेसन (आईएफएफ) ले ‘सिरी ए’ को सिजन पुनः सुचारु हुनुभन्दा अघि आफ्ना सबै खेलाडीहरुको कोरोना परिक्षण गर्ने भएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मार्च ९ देखि इटालियन सिरी ए अनिश्चित कालका लागि बन्द गरिएको छ। इटालीमा सिजन कहिले सुचारु गर्ने निश्चित नभए पनि १२ राउन्ड र चार अन्य राउण्डहरु खेल्न अझै बाँकी रहेको छ। यदि यो वर्षको सिजन पुनः सुचारु गरिएमा सबै खेलाडीको कोरोना परीक्षण गरिने आईएफएफका अध्यक्ष गेब्रिएल ग्रभिनाले बताएका छन्। उनले भने,–“महामारीको अन्त्य भएपछि हामी च्याम्पियनसिप समाप्त गर्नेछौं, चाँडै युइएफाको बैठक बस्नेछ। हामी प्रक्रियामा छौं र बैठकमा आगामी क्यालेन्डरको बारे छलफल गर्नेछौं। मे सम्ममा सबै खेलाडीको परिक्षण गरिने सम्भावना रहेको छ। गर्मीको महिनासम्ममा सबैखाले प्रतियोगिता टुङ्ग्याउन चाहन्छौं।”

इटाली कोरोना भाईरसबाट सबैभन्दा बढी संक्रमित देश मध्ये एक हो। त्यहाँ फुटबल र खेलाडीहरुलाई कोरानोले प्रत्यक्ष असर गरेको छ। यदि सिरी ए को बिजेता अंकको आधारमा गर्न क्लबहरु तयार हुन्छन् भने युभेन्टस बिजेता हुनेछ। धेरै युरोपेली देशहरुको फुटबल लिग कोभिड–१९ को संक्रमणका कारण अनिश्चितकालका लागि बन्द तथा स्थगित अवस्थामा छ। विश्वको सर्वाधिक दर्शक भएको धरेलू लिगबाट परिचित इंग्लिश प्रिमियर लिगको भने अझै नवौं चरणका खेलहरु कहाँ खेलाउने भन्ने बिषयमा अन्योल रहेको छ। त्यस्तै जर्मनीको बुन्डेसलिगा भने मे महिनामा देखि खाली रंगशालामा भएपनि पुन सुचारु गर्ने योजनामा रहेको छ। त्यस्तै बेल्जियमलगायत थुप्रै अन्य देशका लिगहरुले यस वर्षको लिग सकाउने तर्खर गरिरहेका छन्।

युरोपेली राष्ट्रको घरेलु लिग मात्र होईन, कोरोनाबाट प्रभावित बनेको २०१९र२० सिजनको युरोपियन फुटबलको सर्वोच्च दुई प्रतियोगिता युईएफए च्याम्पियन्स लिग र यूरोपा लिग समेत अगस्तको अन्त्यसम्म टुङ्ग्याउने योजना रहेको खुलासा भएको छ। कोरोना भाईरसले असर पारेको यो सिजनको भविष्य बारे छलफल गर्न अप्रिल २३ मा युरोपेली फुटबल महासंघको बैठक बस्न गइरहेको छ। बैठकको मुख्य एजेण्डा नै अगस्टको अन्त्यसम्म सिजनको अन्त्य र त्यसका लागि महत्वपूर्ण खेलहरु सम्पन्न गर्ने रहेको छ।

च्याम्पियन्स लिगको फाइनलमा अगष्ट २९ मा टर्कीको राजधानी इस्तानबुलमा खेलाइने र युरोपा लिगको फाइनल त्यसको तीन दिन अघि पोल्याण्डको डान्स्कमा खेलिनेछ। च्याम्पियन्स लिगका ८ मध्ये क्वार्टरफाइनल पुग्ने चारवटा टोलीहरुको टुंगो लागिसकेको छ। प्रिक्वार्टरफाइनल अन्तर्गत म्यानचेस्टर सिटी र रियल मेड्रिडबीचको खेल हुन भने बाँकी रहेको छ। युरोपा लिग अन्तर्गत प्रि–क्वार्टरफाइनलको सेकेन्ड लेगका सबै खेल खेल्न बाँकी रहेकोले योजना बनाउन सहज नहुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्