हराउँदै मानवीय भावना



कोरोना भाइरस (कोभिड–१९)ले ल्याएको महामारीका कारण विश्व नै आक्रान्त भएका बेला कतिपय स्थानमा केही व्यक्तिहरूमा मानवीय भावनासमेत हराएको भान हुन थालेको छ । महामारीमा एकले अर्कोलाई सघाउने र संकटका बेला मनमुटाब र द्वन्द्वको भावनालाई त्यागी उदाहरणीय योगदानतर्फ लाग्नुपर्नेमा हस्पिटल वा कोरोना भाइरस भएको व्यक्ति बसेको भवनबाट आएको व्यक्तिलाई लखेट्ने हदसम्मको अपराध हामीकहाँ हुन थालेको छ ।

कोरोना भाइरसकै कारण चीन सरकारले पनि नयाँ वर्ष मनाउने संघारमा पुग्दा कोरोनाको महामारीले आफ्ना नागरिकहरूको ज्यान बचाउने अठोटका साथ अघि बढ्ने उद्घोष गरेको थियो । नेपालमा पनि नयाँ वर्ष २०७७ सालको शुरूआत हुनुभन्दा २० दिनअघि नै शुरू भएको लकडाउनलाई लम्ब्याउँदै आम नागरिकको स्वस्थ जीवनको कामना गर्दै राज्यले लकडाउनलाई निरन्तरता दिने निर्णयमा पुग्यो । यो राज्यको दायित्व हो र देश र जनताका लागि अपरिहार्य कुरा हो ।

यतिबेला राज्यले आम नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्ने उपाय भनेको लकडाउन गर्ने, बिरामी भएकालाई अस्पताल लगी उपचार गर्ने, विदेशबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी क्वारेन्टाइन स्थल, अस्पताललगायतका क्षेत्रबाट तीव्र परीक्षण गर्ने र शंकास्पद व्यक्तिको हकमा स्वाब नमुना संकलन गरी ल्याबमै लगेर परीक्षण गर्ने नै हो । यस अवस्थामा आम नागरिकले कोही विदेशबाट आई स्वास्थ्य परीक्षण नगरी घरमै बसेको छ भने स्वास्थ्य संस्थामा गई परीक्षण गर्न झकझक्याउने र स्थानीय निकायलाई सूचना गर्ने गर्नुपर्दछ ।

स्वयं व्यक्ति पनि घरमा लुकेर बस्ने र घरपरिवारका अन्य सदस्यलाई समेत संक्रमित बनाई समूहगतरूपमा क्रियाकलाप गर्ने, भेला, सम्मेलन, अधिवेशनजस्ता कार्य गरेर राज्यलाई गुमराहमा राखें भनेर बस्दा काठमाडौंको पेप्सीकोलाको सनसिटीको जस्तो परिवारै संक्रमित हुनुका साथै कोलनीमा बस्ने १ हजार ८ सयभन्दा बढी मानिसलाई त्रासमा पार्नसक्छ । यसलाई उदाहरणका रूपमा लिएर भए पनि एउटा व्यक्तिको गल्तीले धेरै मानिस र राज्यलाई त्रसित बनाउनु पनि अपराध हो भन्ने कुराको मनन गरी विदेशबाट आएका सम्पूर्ण नागरिकले समयमै परीक्षण गरी राज्यलाई सघाउनु बुद्धिमानी हुनेछ ।

सनसिटीमा बस्ने कतिपय व्यक्तिहरू संक्रमित व्यक्तिको सम्पर्कमा नगएका भए पनि आम नागरिकको दिमागमा त्यहाँ बस्ने व्यक्ति भन्नासाथै सशंकित दृष्टिले हेर्ने र घृणित व्यवहार गर्नेजस्ता कार्यमा नलागौं । सनसिटी अपार्टमेन्टमा देशका विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरूको बसोबास छ । केही समय अघिसम्म सँगै बसेर चिया नास्ता खाएको अहिले भर्खरै सनसिटीको नाम आउनासाथै काभ्रेका केही व्यक्तिहरूले एक जिम्मेवार व्यक्तिलाई आफ्नै घरमा आउँदासमेत शंकाको दृष्टिले हेर्नुका साथै गलत व्यवहार गरेको समेत पाइएको छ ।

सनसिटी आएका एक व्यक्ति पुख्र्यौली घर र कार्यक्षेत्र काभ्रे पुग्दा भएको व्यवहार दुर्भाग्यपूर्ण थियो । सनसिटीमा सुरक्षा निकायले शिलबन्दी गरेपछि पुख्र्यौली घरमा बस्न पुगेका उनलाई छरछिमेकीले लखेटे । उनी एकरात एक दिन नमुना परीक्षण गरेर रिपोर्ट नआएसम्म आफ्नै समुदायसँग जोगिन सुरक्षाकर्मीको शरणमा जान बाध्य भए । यस प्रकारको व्यवहार खेद जनक छ ।

 

प्रतिक्रिया दिनुहोस्