गर्भपतन परिवार नियोजनको साधन हो त ?



परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रूपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरूपयोग भएको छ। यसलाई सरकारले नियन्त्रण गर्न कदम चाल्नु जरुरी छ।
गर्भवती महिलाको मञ्जुरीमा, कानुनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ। तर अहिलेसम्म पनि त्यस्तो अवस्था आएको छैन। अवैध गर्भ बसेपछि अविवाहित किशोरीले समेत गर्भपतन गराउने गरेको हुँदा यो निकै चुनौतीको विषय बनेको छ।
यहाँ अवैधरूपमा र लुकिछिपी यस्तो गर्नेको संख्या एकिन गर्न पनि सकिने अवस्था छैन। अधिकांशले निजी अस्पताल र क्लिनिकमा समेत गर्भपतन गराउने गरेको पाइन्छ। त्यस्ताको रेकर्ड राखिएको हुँदैन।
जिल्लाको सीमावर्ती क्षेत्रमा कतिपयले गर्भपतन गराउन भारतीय बजारसमेत जाने गरेका छन्। निजी मेडिकलमा अवैध र गोप्यरूपमा गराउने गर्भपतनको संख्यालाई पनि जोड्ने हो भने गर्भपतनको अवस्था भयावह रहेको देखिन्छ। यसलाई नियन्त्रण गर्न सरकारले कदम नचाले निकै जटिल अवस्था सृजना हुनसक्छ।
– सौरभ कार्की, नवलपरासी।
पछि परेका हामी नेपाली
एक्काइसौं शताब्दीमा विश्वजगत् चामत्कारिक ढंगले अघि बढिरहेको सन्दर्भमा विकासशील मुलुक नेपालमा भने अझै पनि परम्परागत कुरीति र विकृति अन्त्य हुन सकेको छैन। नेपालमा हरेक दिन कुनै न कुनै रूपमा महिला प्रताडित भइरहेका छन्। महिला हिंसाका घटना वृद्धि हुनुमा सामाजिक कुरीति र बढ्दो आपराधिक मनोवृत्ति नै कारक मानिएका छन्। अबला नारीहरूमाथि सार्वजनिकरूपमा हिंसा भइरहँदा अलिकति पनि दया र करुणा नराखी ताली बजाएर रमाइरहने कस्तो निर्दयी समाज छ हाम्रो ? यो विषयमा एकपल्ट सोच्न बाध्य बनाएको छ।
समाजको अन्धोपना र कुरीतिले प्रश्रय पाउँदै जाँदा महिलामाथि हुने हरेक प्रकारका हिंसा एवम् दुव्र्यवहारका घटनामा हाम्रा संस्कृति, मूल्य र मान्यताहरूमा नै खोट रहेको प्रस्ट हुन्छ। नेपालमा महिला प्रताडित हुने ५७ किसिममा कुरीतिलाई बाधक मानिएको छ। परम्पराका नाममा महिलामाथि भइरहेका ज्यादती विश्लेषण गर्दा हामी अझै एक शताब्दीपछाडि नै रहेछौँ भन्न करै लाग्छ। यस्ता घटना न्यूनीकरण नहुँदा हरेक दिन घटिरहेकै छन्। अझै पनि बोक्सी, दाइजो (दहेज), कम्लहरी, छाउपडी, देउकी, बालविवाह, कन्यादानजस्ता कुरीतिबाट महिला प्रताडित भइरहेका छन्।
संविधानले धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा कुनै पनि आधारमा कुनै किसिमले शोषण गर्न पाइनेछैन भनेको छ। यस्तै, कुनै पनि व्यक्तिलाई भेदभाव गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर, नेपालमा कानुनको खिल्ली उडाउने गरी दिनहुँजसो आपराधिक घटना बढोत्तरी भएका छन्। अहिले धर्म, परम्परा र संस्कृतिका नाममा विभिन्न हिंसा भइरहेका छन्। अधिकार नै हनन हुने र हिंसालाई बढावा दिने संस्कृति संरक्षणभन्दा पनि समयअनुसार परिमार्जन हुनु आवश्यक भइसकेको छ।
यस्तै गरिबी, अशिक्षा र अभावको फाइदा उठाएर महिलामाथि यौन दुव्र्यवहारका घटना हुँदै आएका छन्। त्यस्ता घटनामा संलग्नहरूलाई कानुनी कारबाही गर्न अग्रसर हुनुभन्दा प्रश्रय दिने संस्कारले बोक्सी प्रथाजस्तो कुरीति हट्न नसकेको हो। अपराधी जोसुकै होस्, त्यसलाई कानुनी दायरामा ल्याएर कारबाही गरिनुपर्छ। समाजमा न्याय, समानता र सम्मान स्थापित गर्न सकिए मात्रै हिंसात्मक घटनाहरू न्यूनीकरण हुँदै जान्छन् र हिंसा अन्त्य गर्न सम्भव हुन्छ।
– नन्दा परियार, हेटौडा।

हातमा सीप भएका महिला आत्मनिर्भर
महिलावर्गलाई सीपयुक्त बनाउनुपर्ने बहस सिर्जना भएको छ। सीपले मानिसलाई आत्मनिर्भर बनाउँछ भने मुलुकलाई समृद्ध बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्छ। नेपालमा पछिल्लो समयमा सीप सिकेर स्वरोजगार बन्नेहरूमा महिलाको संख्या ह्वात्तै बढेको छ। राज्यले बेरोजगारलाई सीप सिकाएर स्वरोजगार बनाउने लक्ष्य लिएपछि नेपालमा स्वरोजगारको संख्या बढ्दै गएको हो। यसमा पनि महिलाको सहभागितालाई राज्यले महत्वका साथ अगाडि बढाएको छ। सबै क्षेत्रमा पछाडि पारिएका महिला सीपमा पनि पछाडि नै छन्। जसले गर्दा महिलावर्ग उत्पादन र आयमूलक काममा लाग्न सकेका छैनन्।
महिला–पुरुष दुवैले उत्पादन र आयमूलक कार्य नगर्ने हो भने मुलुकले समृद्धि प्राप्त गर्न सक्दैन। यही कुराको विश्लेषण गरेर राज्यले महिलालाई पनि सीप सिकाउने जमर्को गरिरहेको छ। महिलाले पनि विभिन्न आयमूलक सीप सिकेर स्वरोजगार बन्ने कार्यलाई प्राथमिकता दिएका छन्। घरभित्रै बसेर सहजै गर्न सकिने थुप्रै सीप महिलाले सिकिरहेका छन्। सीप सिकेपछि थुप्रै महिला र पुरुष विभिन्न आयमूलक कार्यमा लागेको हामीले देखेका छौं।
आर्थिक लाभमा महिलाको अग्रसरताले मुलुकको समृद्धिमा समेत धेरै हदसम्म लाभ गरेको छ। यही रफ्तारमा महिला र पुरुषवर्ग आयमूलक कार्यमा संलग्न हुने हो भने मुलुकले अबको केही वर्षमै आर्थिकरूपमा धेरै प्रगति गर्नेछ।
श्रमले नै मुलुकलाई समृद्ध बनाउने हो। अहिले पनि गरी खाने वर्गभन्दा बसी खाने वर्गको संख्या धेरै छ। गरी खाने वर्गको संख्यामा वृद्धि गर्न सके मात्र मुलुकको अर्थतन्त्र सबल हुँदै जानेछ। यसका लागि नेपालमा जन्मने सबै नेपाली आयमूलक कार्यमा संलग्न हुने वातावरण निर्माण हुनुपर्छ। शिक्षा ग्रहण गरेपछि स्वतः कुनै न कुनै पेसा व्यवसाय वा जागिरमा लाग्न सक्ने परिपाटी हुनुपर्छ। सीपले मानिसको व्यक्तिगत जीवनमा धेरै लाभ गर्दछ। अहिलेको शिक्षाले मानिसलाई बेरोजगार बन्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिरहेको छ। यस्तो अवस्थामा आयमूलक सीप नै त्यो कडी हो, जसले मानिसलाई खालि बस्नै दिँदैन।
आफू र आफ्नो परिवारको जीविकोपार्जन गर्न सहजरूपमा आर्थिक लाभ लिन सक्ने अवस्थाको सिर्जना सीपले गर्दछ। अहिले पनि समाजमा सीप सिकेका महिला, पुरुषको जीवन सहजरूपमा बितेको हामीले देखेका छौं। सीप सिकेको मानिसले केही न केही आय गरिरहेको हुन्छ। यसले गर्दा उसलाई आर्थिक संकट पनि पर्दैन।
पछिल्लो समयमा सीपतर्फ महिला, पुरुष सबैको आकर्षण बढेको छ। अब महिलालाई कामकाजी बनाउनेतर्फ विशेष योजना ल्याउन जरुरी छ। सीपले एकातिर मुलुकको समृद्धिमा भूमिका खेल्छ, अर्कोतर्फ महिला हिंसा पनि कम गर्ने भएकाले मुलुकलाई समृद्ध, सभ्य बनाउने महान् अभियान सार्थक बनाउनका लागि पनि महिलावर्गलाई सीपयुक्त बनाउने सवालमा ध्यान दिनै पर्छ।
– सुमिना पोख्रेल, कोहलपुर, बाँके।

 

प्रतिक्रिया दिनुहोस्