कर सेवा कार्यालय गोरखामा खुल्ने



गोरखा, (नेस) ।
गोरखामा कर सेवा कार्यालय स्थापना हुने भएको छ । सरकारले २४ वटा जिल्लामा सेवा कार्यालय बिस्तार गर्ने क्रममा गोरखा पनि छनोट भएको हो ।
कार्यालय स्थापना भएपछि कर तिर्नकै लागि गोरखाका उद्यमी, व्यवसायी, कर्मचारी तथा अन्य करदाता तनहुको दमौली जानु नपर्ने भएको छ ।
आन्तरिक राजस्व कार्यालय दमौली माताहत रहने गरी फागुन महिनाभित्रै करदाता सेवा कार्यालय स्थापना हुने आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख सूर्य सेढाईंले जानकारी दिनुभयो । कार्यालयमा करदाता दर्ता गर्ने, कर असुली गर्नेलगायत सम्पूर्ण काम हुने उहाँको भनाइ छ ।
गोरखामा १५ हजार जनाभन्दा धेरै करदाता रहेको कार्यालयले जनाएको छ । गोरखामा नै करदाता सेवा कार्यालय स्थापना भएपछि उनीहरुलाई सहज हुने कार्यालयले विश्वास लिएको छ ।
‘अडिटबाहेक सबै काम यहीबाट हुन्छ’, उहाँले भन्नुभयो–‘यसले गर्दा गोरखाली करदातालाई करसम्बन्धी कारोबार गर्न धेरै सहज हुनेछ ।’ कार्यालयमा कर अधिकृत, नायब सुब्बालगायत कर्मचारी रहने उहाले बताउनुभयो।
गोरखामासगै लम्जुङमा पनि करदाता कार्यालय रहनेछ । मनाङ र लम्जुङ कार्यक्षेत्र बनाएर बेंशीशहरमा कार्यालय स्थापना गर्न लागिएको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्