तोकिएको समयअगावै निर्माण सम्पन्न



प्रताप बानियाँ, म्याग्दी ।
काफलचौर र कोत्राबाङ जोड्ने भारबाङ खोलामाथिको झोलुङ्गे पुल निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको छ ।
जेठ १९ गते म्याग्दीको मंगला गाउँपालिकासँग निर्माण सम्झौता भएको पुलको गत भदौ २१ गते निर्माणकार्य शुरु गरिएकोमा माघ पहिलो साता निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ ।
तर, झोलुङ्गे पुलको निर्माण अवधि भने २०७७ असार मसान्तसम्म रहेको थियो । निर्माणको समय धेरै रहे पनि स्थानीय उपभोक्ताको सक्रियताका कारण निर्माणकार्य थालिएको ५ महिनाको अवधिमै पुल निर्माण भएको हो ।
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्विस सरकारको प्राविधिक सहयोगमा गाउँपालिकाद्वारा उपभोक्ता समितिमार्फत पुल निर्माण गरिएको हो । झोलुङ्गे पुल निर्माणपश्चात् काफलचौर र कोत्राबाङका १ सय ४३ घरधुरीका ८ सय ५८ जना लाभान्वित हुनुका साथै कुहुँ, पूर्णगाउँ, टोड्के, सल्यान, बाबियाचौरका स्थानीयलाई समेत आवत–जावतमा सहज भएको छ ।
कुल ४७ लाख ७ हजार ९ सय ३३ रुपियाँको लागतमा निर्माण सम्पन्न झोलुङ्गे पुलमा मंगला गाउँपालिकाको २ लाख ८७ हजार ३ सय ७, केन्द्रीय अनुदान (स्वाप) ३७ लाख २१ हजार ५सय २३, म्याट्रियल ग्रान्ड ५ लाख ७४ हजार ५ सय ३ रहेकोमा १ लाख २४ हजार ६ सय रुपियाँबराबर स्थानीयको श्रमदान रहेको छ ।
१ सय ४ मिटर लम्बाइ, १ मिटर ६ सेन्टिमिटर चौडाइ र पुलदेखि लठासम्मको उचाइ १ मिटर १० सेमि रहेको झोलुङ्गे पुलले एकपटकमा ४ दशमलब १६ टन अर्थात् ६ सय जनाको भार थाम्ने झोलुङ्गे पुल सहयोग इकाइ (टीबीएसयू) पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारीले जानकारी दिनुभयो । करिब ५० वर्षको आयु रहेको झोलुङ्गे पुल निर्माणमा टीबीएसयू, प्रादेशिक प्राविधिक सहयोग प्रदायक (पीटीएपी) पोखराले र मिलन म्याग्दीले प्राविधिक तथा सामाजिक सहजीकरण गरेका थिए ।
सोमबार गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकार स्थापना भएसँगै १ सय २१ वटा पुलको निर्माण थालिएको बताउनुभयो ।
मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले नागरिकको आधारभूत आवश्यकतासँगै गाउँमै रोजगारी सिर्जना गर्ने गरी गाउँपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा पूर्वसांसद नवराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, पूर्वाधार विकास कार्यालय प्रमुख ओमराज ढुंगाना, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चन्द्रशेखर सापकोटालगायतको उपस्थिति थियो ।
कार्यक्रमको अवसरमा झोलुङ्गे पुल निर्माणमा जग्गा उपलब्ध गराउने सर्वजित घर्ती र ढकबहादुर खड्कालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्