नारी दिवसको अवसर पारेर दिल्लीमा नेपाल भ्रमण वर्षको प्रचार गरिने  



यमलाल भुसाल, बुटवल ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मानव कल्याण मित्र मन्च नेपालले भारतमा प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि भारतमा प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरिएको मित्र मन्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताउनु भयो ।

अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ को अवसरमा मित्र मन्चले भारतको नयां दिल्लीमा नेपाल भ्रमण बर्षको प्रचार प्रसार कार्यक्रम गर्ने निर्णय गरेको छ । भारतमा हरेक वषको मार्च ८ मा नेपालीहरुको संस्था प्रवासी नेपाली मित्र मन्चले महिला हिंसा विरुद्ध चेतनामुलक कार्यक्रम गर्दै आएको छ । नेपालमा गठन गरिएको त्यसैको भगिनी संस्था मानव कल्याण मित्र मन्चले नेपालका पर्यटकीय क्षेत्रहरुलाई समेटेर बनाईएको डकुमेन्ट्रि समेत प्रदर्शन गरिने संस्थाका महासचिव गोबिन्द पोखरेलले जानकारी गराउनु भयो ।

मन्चको बुटवलमा बसेको बैठकले उक्त कार्यक्रममा भारतमा रहेका नेपालीलाई उत्साहजनक सहभागिताको लागि समेत आग्रह गरेको छ । बैठकले तिलोत्तमा नगरपालिकासंग मन्चको कार्यालय प्रयोजनकालागि भवन निर्माणकालागि जग्गा व्यबस्थापन गरिदिन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै बुद्धजयन्तिको अवसरमा विशेष समारोह गरेर मनाउने निर्णय गरेको अध्यक्ष अर्यालले बताउनु भयो ।
बैठकमा मन्चका सल्लाहकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, संरक्षक अम्विका अर्याल, कोषाध्यक्ष शालिकराम गौतम लगायतले मन्चले सामाजिक काममा रचनात्मक काम गर्नुपर्ने भनाई राख्नु भएको थियो ।

प्रवासी नेपालीहरुका समस्या समाधानका लागि भारतमा प्रवासी नेपाली मित्र मन्चले काम गर्दै आएको छ भने त्यसको भगिनी संस्था मानव कल्याण मित्र मन्चले त्यसको सहयोगिको रुपमा काम गर्ने अध्यक्ष अर्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्