कृषक समूह च्याउ खेतीमा आकर्षित



अमृत अर्याल, स्याङजा ।

स्याङ्जाको गल्याङ नगरपालिका ३, वल्पुकका किसान च्याउ खेतीप्रति आकर्षित भएका छन् । वल्पुक कृषक समूहमा आबद्व कृषकहरु च्याउ खेती तर्फ आकर्षित भएका हुन् । समूहमा आबद्व किसानहरुलाई यसअघि गल्याङ नगरपालिकाले निशुल्क रुपमा च्याउको विउ वितरण गरेको थियो । नगरपालिकाले वितरण गरेको च्याउको विउबाट घरमा खान मात्रै नभई विक्री वितरण गर्न समेत पुगेपछि कृषक समूहले अहिले आफै विउ खरिद गरी च्याउ लगाउने काम सुरु गरेका छन् ।

उत्पादन राम्रो भएमा बजारको कुनै समस्या नभएको समूहका अध्यक्ष नमकला बस्यालले बताउनुभयो । १५ जना स्थानीय कृषक रहेको समूहमा अहिले व्यवसायिक रुपमा नै च्याउ खेति गर्नका लागि तयारी थालिएको उहाँले बताउनुभयो । च्याउबाट धेरै उत्पादन गर्ने तरिकाबारे जानकारी लिदै स्थानीय कृषकहरुले च्याउको उत्पादनलाई अझै बढाउने बताएका छन् ।

गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिब ढकालले च्याउका लागि पराल बनाउने, डल्ला पार्ने, विउ राख्ने तरिका सिकाउनुभएको थियो । यसअघि तालिम विना लगाइएको च्याउ खेती बाट पनि राम्रो आम्दानी भएकोमा अब केही सिपको विकास भएकाले आफुहरुमा अझै उत्साह थपिएको समूहकी अध्यक्ष बस्यालले बताउनुभयो । ढकालले वल्पुुकका कृषकमा च्याउ खेती प्रति आकर्षण बढेको भन्दै उत्साही किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

स्थानीय कृषकहरुका लागि यस्ता कार्यक्रम प्रभावकारी रहने भन्दै उहाँले किसानको आग्रहमा आफु सम्बन्धित ठाउँमा नै पुगेर आवश्यक सिप प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्