सरकार सकरात्मक दिशामाः विश्वकर्मा



यमलाल भुसाल, बुटवल ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकार सकरात्मक दिशामा अघि बढेको बताउनुभएको छ ।

कतिपयले सरकारले गरेका काम कारवाहीको बारेमा आलोचना गरेपनि समग्रमा सरकारले लिएको दिशा र गन्तव्य सकरात्मक रहेको उहाँको दाबी छ । रुपन्देहीको ओमसतिया गाउँपालिकाको नवनिर्मित भवनको उदघाटन गर्दै नेता विश्वकर्माले यस्तो बताउनुभएको हो ।

विभिन्न आन्दोलनबाट राज्यव्यवस्था परिवर्तन भएको र संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ व्यवस्थाको अभ्यास मुलुकले पहिलोपटक गरिरहेको भन्दै उहाँले राज्यव्यवस्थाका संवाहक शक्तिले केही समय धैर्य गर्नुपर्ने बताउनुभयो । “हामी पहिलो अध्यासमा छौं, सरकार ठीक ढंगले अघि बढेको छ, अव सबैको सामूहिक प्रयासले समाजवादको गन्तव्यमा पुर्याउनुपर्छ”–नेता विश्वकर्माको भनाइ छ ।

स्थीर सरकार बनेपछि मुलुकमा राजनीतिक अस्थिरता तोडिएकोतीनै तहका सरकार सन्तुलित, नियन्त्रित र व्यवस्थित ढंगले अघि बढेको उहाँले दावी गर्नुभयो । गएको वर्ष कर्मचारी समायोजनका कारण अपेक्षाकृत काम हुन नसकेपनि आगामी आर्थिक वर्षबाट भने सुधारका धेरै कामहरु अगाडि बढ्ने उहाँले बताउनुभयो । नेता विश्वकर्माले जनतालाई सहज ढंगले सेवा प्रवाह गर्न तीनै तहका सरकार भौतिक रुपले सुविधासम्पन्न हुनैपर्ने भन्दै धेरैजसो स्थानीय तह भौतिक पूर्वाधारमा बलियो हुँदै गएको बताउनुभयो ।

“जनतालाई सहज सेवा दिन स्थानीय तह भौतिकरुपमा सुविधासम्पन्न हुनैपर्छ, यस दिशातर्फ अहिले धेरै स्थानीय तहहरु अगाडि बढेका छन्”–उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले आफू चुनावी प्रतिवद्धताबाट कत्ति पनि टाढा नभएको भन्दै वाचा गरेका प्रतिवद्धता क्रमशः पूरा गर्दै जाने बताउनुभयो । विकासका लागि सबै दलहरुबीच एकता र सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपन्देही सचिव निर्मल जिसी, नेपाली काँग्रेसका दिलबहादुर चौधरी, समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्रनाथ पाण्डे, राष्ट्रिय जनता पार्टी रुपन्देहीका उपाध्यक्ष प्रशान्त गुप्ता, जनमत पार्टीका भुपेन्द्र यादव, राप्रपाका अर्जुन घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल, कार्यपालिका सदस्य चुमकला बस्याल लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्