मालपोतमा राष्ट्रिय बाणिज्य बैंकको काउन्टर



मोतीराम तिमल्सिना, काभ्रे । 

मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा राष्ट्रिय बाणिज्य बैंक धुलिखेल शाखाको एक्स्टेन्सन काउन्टर शुभारम्भ गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले काउन्टरको उद्घाटन गर्नु भएको थियो ।

बैंकको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सेवाग्रहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैकको सेवालाई प्रभावकारी बनाउन सुझाव दिनु भयो । बैंकसँगै मालपोत कार्यालयको सेवालाई अझै प्रभावकारी हुने उहाँको भनाई थियो । मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले मालपोत कार्यालय काभ्रे लगायत मुलुकका १ सय २६ वटा कार्यालयले अनलाईन सेवा शुरु गरेकाले सेवाग्रहीलाई अझै गुणस्तरीय सेवा प्रदान गर्न बैंक काउन्टर शुभारम्भ गरेको बताउनु भयो । पटक पटक मालपोत कार्यालय काभ्रेले बैंकको सेवा कार्यालयबाटै उपलब्ध गराउन अनुरोध गरे पनि हुन सकेको थिएन ।

राष्ट्रिय बाणिन्ज्य बैंकले मालपोत कार्यालयमा उपलब्ध हुने रोक्का, लिखत, श्रेस्ता प्रतिलिपि, दस्तुर, घर कायम दस्तुर, संशोधन दस्तुर, नामसारी, हाल साविक, कित्ता एकिकरण, पूजीगत लाभकर, न्यायिक दस्तुर, धरौटी, अग्रिम आयकर लगायतका विभिन्न शिषर्ककमा असुल गर्नु पर्ने राजश्व संकलन गर्नेछ । मालपोत कार्यालय काभ्रेबाट दैनीक सरदर ४०/४५ लाख राजश्व असुल हुँदै आएको थियो ।

राष्ट्रिय बाणिज्य बैंक धुलिखेल शाखाका प्रवन्धक विनोद सापकोटाले मालपोत कार्यालयमा सेवाग्रहीहरुको सहजताका लागि काउन्टर शुभारम्भ गरिएको बताउनु भयो । कर्मचारीहरु मार्फत रकम लिदै गर्दा पटक पटक सेवाग्रहिहरुको गुनासो आउने गरेको थियो । केहि महिना अघि मालपोत कार्यालयका कर्मचारी रोसकाजी जस्पाउँ सेवाग्रहिसँग घुस लिँदा लिदै अख्तियारद्वारा पक्राउ परेका थिए । अनियमित लाभ नउठाउन तथा सेवाग्रहिले तिर्नु पर्ने राजश्व मात्रै असुल गर्न सहज हुने अपेक्षा काउन्टरबाट गरिएको छ ।

मालपोत कार्यालय काभ्रेले भु सेवा तथा अन्य प्रविधिबाट सेवाग्रहिको काम छिट्टै सम्पन्न गर्ने गरेको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले बताउनु भयो । राष्ट्रिय बाणिज्य बैंक धुलिखेल अन्र्तगतको काउन्टरले अन्य कार्यालयको समेत राजश्व काउन्टरबाटै संकलन गर्ने विषयमा छलफल भईरहेको प्रवन्धक सापकोटाले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, लेखापढी तथा कानुन ब्यवसायी संघ काभ्रेका अध्यक्ष रोशन श्रेष्ठ, बैककी सुस्मा सापकोटा लगायतले बैंक र मालपोतको सेवालाई अझै प्रभावकारी बनाउन दक्ष जनशक्ति र प्रविधिको भरपुर उपयोग गर्नु पर्ने बताउनु भएको थियो ।

बाणिज्य बैंकमा ग्राहकको आर्कषण

राष्ट्रिय बाणिज्य बैंकका जिल्लामा तीनवटा शाखा र एउटा काउन्टर रहेको छ । धुलिखेल, बनेपा र भकुण्डे शाखा मार्फत सेवा प्रदान गर्दै आएको बाणिज्य बैकमा सहुलियत कर्जा तथा बचतकर्ताहरुको आर्कषण रहेको प्रवन्धक विनोद सापकोटाले बताउनु भयो । दुई वर्ष अघि धुलिखेल शाखाबाट ३२ करोड ऋण लगानी भएकोमा चालु वर्षको माघ मसान्तसम्ममा ९६ करोड लगानी भएको छ । २.५ प्रतिशत खराव कर्जाको दर घटेर ०.५ प्रतिशतमा झरेको प्रवन्धक सापकोटाले बताउनु भयो । झण्डै ६ सय ऋणीहरुले नियमित कारोवार गरिरहेका छन् भने २५ हजार ग्राहकहरुलाई सेवा दिएको बैंकमा नियमित बचत गर्ने ग्राहकहरुको १ अर्ब ३० करोड रकम जम्मा भएको छ । राजश्व संकलन बाहेक उक्त रकम बचत भएको बैंकले जानकारी दिएको छ ।

बैंक मार्फत सहुलियत दरको कर्जा ब्यवसायीक कृषि तथा पशुपन्क्षी, महिला उद्यमशिलता, बैदेशिक रोजगार, शैक्षिक, उच्च शिक्षा तथा ब्यवसायीक प्राविधिक शिक्षा लगायतमा सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ । जिल्लामा रहेका अन्य बाणिज्य बैंकहरुको तुलनामा राष्ट्रिय बाणिज्य बैंकले सहुलियत उपलब्ध गराएको तथ्यांकले देखाएको छ । ग्राहकहरुको चाप अनुसार जनशक्ति नभएको बैंकका प्रवन्धक सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्