डडेल्धुरामा बिरामीलाई फलफूल वितरण गरेर जनयुद्ध दिवस मनाईयो



राम धामी, डडेल्धुरा ।

पुर्नगठित नेकपा (माओवादी केन्द्र) डडेल्धुराले सदरमुकामस्थित डडेल्धुरा अस्पताल र चिरञ्जिवी पोली क्लीनिकमा उपचार गराईरहेका बिरामीहरुलाई फलफूल वितरण गरेर २५ औं जनयुद्ध दिवस मनाएको छ ।

पुर्नगठित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा डडेल्धुरा र डोटी जिल्ला इन्चार्ज नवराज धिक्तको अगुवाईमा सो पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ताहरुको सहभागितामा दुबै अस्पतालमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । माओवादीले सञ्चालन गरेको शसस्त्र युद्धमा लामो समय योगदान पुगाएका पुराना माओवादी नेता धिक्तले जनयुद्धले उठान गरेका सवालहरुको सम्बोधन हुन नसकेकाले नेपाली क्रान्तीको झण्डा नयाँ सिराबाट उठाउदै मुलुकमा जनवादी गणतन्त्रसहितको साम्यवादी शासन व्यवस्था स्थापित गर्न आवश्यक रहेको जिकिर गरे ।

अस्पतालका बिरामीहरुलाई फलफूल वितरणसँगै जिल्लास्तरमा बिभिन्न कार्यक्रमका साथ २५ औं जनयुद्ध दिवस मनाईएको उनले जानकारी दिए । तत्कालीन नेकपा माओवादी केन्द्र (प्रचण्ड समूह) र तत्कालीन नेकपा (एमाले) बीच एकीकरण भई नयाँ पार्टी नेकपा दर्ता भएपछि रुष्ट रहदै आएका नेता कार्यकर्ताहरुको भेलाले गोपाल किराँतीको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) पूर्नगठन गरिएको उनले बताए ।

प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागिपरिरहेको केन्द्रीय सदस्य धिक्तले बताए । जनयुद्धद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा माओवादी केन्द्र, पूर्नगठन गरिएको बताउदै नेता धिक्तले सहिदको रगतसँग सत्ता साटेका अवशरवादी नेताहरुले जनयुद्ध प्रति गद्दारी गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्