दोलालघाट हेर्न बनदेउमा भ्यु टावरसहितको बुद्ध पार्क



मोतीराम तिमल्सिना, काभ्रे ।

सुनकोशी र इन्द्रावतीको संगम दोलालघाट बजार सहित आसपासको क्षेत्रलाई लक्षित गर्दै भुम्लु गाउँपालिका वडा नम्वर ८ स्थित बनदेउटारमा प्रदेश सरकारले विनियोजन गरेको २ करोड २४ लाख बजेटमा पहिलो चरणमा भ्यु टाओर सहितको बुद्ध पार्क निर्माण हुने भएको छ ।

बामग्मती प्रदेश सरकारका वन, पर्यटन, उद्योग मन्त्री अरुण नेपालले पार्कको शिल्यान्यास गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री नेपालले पर्यटन क्षेत्रबाट मुलुकलाई समृद्धको आधार बनाउने गरी प्रदेश सरकारले कार्य गरिरहेको बताउनु भयो ।

चालु आर्थिक वर्षमा १ अर्ब ६५ करोड पर्यटन क्षेत्रमा बजेट विनियोजन गरेको बताउँदै मन्त्री नेपालले पर्यटन क्षेत्रबाट रोजगार श्रृजना गरी जनताको जीवन स्तर उकास्ने गरी कार्य गरिरहेको बताउनु भयो । स्थानीय क्षेत्रको उत्पादनमा समेत बृद्धी हुने गरी पर्यटन क्षेत्रबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा तीनै तहका सरकार सक्रिय भएको मन्त्री नेपालले बताउनु भयो । मन्त्री नेपाललाई गाउँपालिकाले गरिरहेका विकास योजना तथा दोलालघाटको बनदेउ क्षेत्रमा निर्माण गर्न लागिएको पार्क, सिमाना विवादका कारण उत्पन्न परिस्थिती लगायतका विषयमा अध्यक्ष गुमानध्वज कुँवरले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा पुर्व राज्य मन्त्री गोविन्दनाथ उप्रेतीले नेकपाको नेतृत्वको सरकारले मुलुकको कायापलट हुने गरी कार्य गरिरहेको दोलालघाट क्षेत्रमा हुने विकास निर्माणमा संघ र प्रदेश सरकारको सहयोग उत्तिक्कै हुनु पर्ने बताउनु भयो । बाग्मती प्रदेशका सदस्य लक्ष्मण लम्सालले प्रदेश सरकारले विनियोजन गर्ने बजेटले विकासको जग राख्ने काम शुरु भएको बताउनु भयो ।

आन्तरिक पर्यटकको हब बनेको दोलालघाट क्षेत्रमा अझै पर्यटकहरुको संख्या बृद्धी गर्न भ्यु टाओर सहितको बुद्ध पार्क निर्माणका लागि बजेट विनियोजन गरेको बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले जिल्लाको विकास निर्माणमा तीनै तहका सरकार सक्रिय हुनु पर्ने बताउनु भयो । पार्क निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सहज हुने केसीले बताउनु भयो । कार्यक्रममा दोलालघाट उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश कक्षपति, वडा अध्यक्ष मोतिलाल तामाङ, नेकपा नेता प्रेम भुजेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा आयोजना प्रमुख शिव सापकोटाले दोलालघाटमा निर्माण हुने भ्यु टाओर सहित सिँढी, तीन वटा शौचालय, ७ वटा वनभोजका लागि ‘गजेवो’, २ सय भन्दा धेरै मेचहरु राखिनेछन् । दोश्रो चरणमा उक्त क्षेत्रमा बुद्धको मुर्ति राखिनेछ । काभ्रेपलाञ्चोक जिल्लामा झण्डै १५ करोड बराबरको बजेट पर्यटन क्षेत्रमा संघ र प्रदेश सरकार मार्फत विनियोजन भएको छ ।

बनेपाको हिलेजलजले पर्यटन ताल बनेपा २ का लागि डिपिआर तथा निर्माण संचालनका लागि ७५ लाख, एक जिल्ला एक नमुना गन्तब्य अन्र्तगत बासुकी थुम्की क्षेत्र बनेपा १३ का लागि १ करोड, काभ्रे रोशी भिमचुली भ्यु टाओर रोशीका लागि २ करोड, नगरकोट टनचोक धुलिखेल नमोबुद्ध तेमाल पर्यटकिय सडक निर्माणका लागि ५० लाख, बल्थली महांकालस्थान चुलिडाँडा नारायणस्थान पर्यटकिय पदमार्गका लागि २० लाख विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्