सामाजिक सेवामा कल्पना



नेपाल समाचारपत्र, ललितपुर।

सगरमाथा चढ्ने कल्पना साकार भएकोमा कल्पना महर्जनले सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी सगरमाथा चढ्न सक्नुको श्रेय सबैलाई दिँदै उहाँले सबैलाई धन्यवाद दिनुभयो।

उहाँले नेपाल र तिब्बतबाट सगरमाथाको चुचुरो पाइला टेकेर नयाँ कीर्तिमान कायम गर्नुभएको थियो। एक वर्षको अन्तरालमा गत वर्ष र यस वर्षको जेठ महिना ९ गतेको दिन नेपाल र तिब्बतबाट पत्रकार महर्जनले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो।

पर्वतारोहण व्यवस्थापन कम्पनी एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रालिले आयोजना गरेका कार्यक्रममा उहाँले शान्ति शिक्षा अभियानको सहयोगमा पाँंचवटा जिल्लाका विभिन्न स्कुलहरूमा शिक्षामार्फत अभियानको थालनी गरेको बताउनुभयो।

शिक्षामार्फत बाल विवाह रोक्न सक्ने विश्वासका साथ आफूले यस्तो अभियान थालेको उहाँले बताउनुभयो। प्रालिले नेपाल र तिब्बतबाट सगरमाथा आरोहण गर्ने उहाँ सम्भवतः विश्वकै पहिलो महिला पत्रकार रहेको दाबी गरेको छ।

धन्यवादसँगै पत्रकार महर्जनले बाल विवाहविरुद्धको अभियान थाल्नुभएको छ। शुक्रबार राजधानीमा भएको कार्यक्रममा उहाँले ललितपुरको महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरस्थित भानूदय प्राविबाट अभियान थालनी गर्नुभएको हो।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गर्नुभयो। कल्पनाको सगरमाथा आरोहणमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा पूर्वउपप्रधानमन्त्री सिंहले शुक्रबारदेखि नै सञ्चालनमा ल्याइएको भिजिट नेपाल युट्युब च्यानलको पनि शुभारम्भ गर्नुभयो।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले एकपटक असफल र दुइपटक सफल सगरमाथा आरोहण गर्ने कल्पनालाई अबका दिनमा बाल विवाहविरुद्धको अभियानमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्