साङ्लो र सेल्फी किङ सँगसँगै



आज शुक्रबार दुई बहुचर्चित फिल्म एकसाथ रिलिजमा आउने भएका छन्। विराज भट्टले एक्सनलाई फकाउँदै तयार पारेको साङ्लो र विपीन कार्कीको अर्को बलियो फिल्म मानिएको सेल्फी किङ एकसाथ अल नेपाल रिलिज हुन लागेको हो। साङ्लोमार्फत् नेपाली फिल्म लगालग फ्लप भइरहेको समयमा एक्सन हिरो विराज भट्ट दर्शकलाई एक्सनको स्वाद दिन लामो समयपछि नेपाली फिल्ममा फर्किएका छन्।

लामो समयदेखि नेपाली फिल्ममा देख्न नपाएका फ्यानका लागि विराजले आप्mनै निर्माण र निर्देशनमा साङ्लो तयार पारेका छन्। एक्सनले भरिपूर्ण साङ्लोलाई लिएर विराजको भनाइ छ– ‘म भोजपुरी फिल्ममा काम गर्दा समेत मैले खेलेका अधिकांश फिल्म नेपालीमा डब गरेर नेपालमा देखाइँदो रहेछ, जुन कुरा मलाई नै थाहा हुँदैनथ्यो।

यस्तो थाहा पाएपछि नेपाली दर्शकको चाहनामा विराज भट्ट अहिले पनि रहेछ भन्ने अनुभव गरें र आफ्नै सोचको फिल्म लिएर दर्शकसामु आउँदै छु।’ साङ्लोका लागि आफूले धेरै मेहनत गरेको विराजले बताए। विराजले साङ्लोबाटै नेपाली रजतपटमा मिस नेपाल निकिता चण्डकलाई नायिकाका रूपमा भित्रयाएका छन्।

शिवम अधिकारीको लेखन रहेको फिल्ममा विराज र निकिताका साथै जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्तलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको द्वन्द्व तथा अर्जुन जिसीको सम्पादन रहेको छ।

यसैबीच राजधानीमा बुधबार प्रिमियर सो गर्दै आजैबाट सेल्फी किङ रिलिजमा आउन लागेको हो। फिल्ममा विपीनले सेल्फी किङको भूमिका निर्वाह गरेका छन्। उनी टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन्। फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ।

फिल्म हेर्न थुप्रै स्टार प्रिमियरमा सहभागी भएका थिए भने फिल्म हेरेपछि उनीहरूले सेल्फी किङको प्रशंसासमेत गरेका छन्। फिल्मको निर्देशन विशाल सापकोटाले गरेका छन्।

कथा पनि उनकै छ। दिनेश राउत र सुवास थापाले संयुक्तरूपमा निर्माण गरेको फिल्ममा विपीनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारले अभिनय गरेका छन् भने भने अभिनेत्री केकी अधिकारीले जाली रूमाल बोलको गीतमा अभिनय गरेकी छिन्।

फिल्ममा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसालको संगीत, बी पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ। यसमा सहनिर्माता राजेश बिसुराल र प्रबल कोइराला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्