हात्ती ढुंगामा मनाङको हिमपात



मनाङको विशाल हिमपातमा खिचिएको फिल्म प्रेम गीत–३ को गीत हात्ती ढुंगामा सार्वजनिक गरिएको छ।करिब दुई सय वर्ष पुरानो कथामा आधारित भनिएको फिल्मको गीतलाई पनि दुई शताब्दीअघिको स्वरूप दिइएको छ। गीतको नृत्यलाई कोरियोग्राफर कविराज गहतराजले प्राचीन शैलीको रूप दिएका छन्।

भिडियोलाई कविराजको लोभलाग्दो कोरियोग्राफीले आकर्षक बनाएको छ। गीतमा नायक प्रदीप खड्का र नवोदिन नायिका क्रिस्टिना गुरुङको नृत्य निकै आकर्षक छ। गीत आफै नृत्यप्रधान भएकाले फिल्मका मुख्य कलाकारलाई नृत्यमा उतारिएको छ।

फिल्ममा अभिनेता सुनील थापाको अभिनय पनि गीतमा हेर्न पाइन्छ। उनी गीतको भिडियोमा झाँक्रीका रूपमा देखिएका छन्।नृत्यमा प्रदीप र क्रिस्टिनालाई माओत्से गुरुङसहित कोरसले पनि साथ दिएका छन्। रक लोक शैलीको गीत नेपाल आइडलका सागर आले र मेलिना राईले गाएका छन्।

प्रशस्तमात्रामा लोकबाजा प्रयोग गरिएको गीत हर्क साउदले रचना गरेका छन् भने कल्याण सिंहले संगीत दिएका छन्।राजेश श्रेष्ठको छायांकन तथा वनिश शाह र भूपेन्द्र अधिकारीको सम्पान रहेको गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको हो। 

करिब साढे आठ लाखले हेरिसकको गीत युट्युब ट्रेन्डिङको चौथो नम्बरमा पुगिसकेको छ।प्रदीप खड्का र क्रिस्टिना गुरुङको महत्वकांक्षी भनिएको फिल्म आगामी चैत २८ गते अल नेपाल रिलिज हुनेछ। छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्म सन्तोष सेनले निर्माण गरेका हुन् भने कुमार सान शाह सहनिर्माता रहेका छन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेत फिल्मका मुख्य कलाकार रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्