पर्वतको खानीगाँउमा अस्थायी प्रहरी पोष्ट स्थापना



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको फलेबास नगरपालिकाको वडा नं ५ खानी गाउँमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । नगर कार्यपालिकाको कार्यालय रहेको स्थानमा सुरक्षापोष्ट स्थापना गर्ने निती अनुसार खानीगाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खानीगाउँको पिप्लेमा अस्थायी पोष्ट स्थापना गरिएको छ । उक्त प्रहरी पोष्टको बुधबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ । चौकीको शुभारम्भ गर्दै फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शान्ति सुरक्षा कायम गर्न नगर कार्यपालिकाको कार्यालयको सुरक्षाको लागि पनि चौकी अत्यावश्यक रहेको बताउनुभयो । उहाँले चौकी स्थापनासँगै समाजमा हुने झैझगडा देखि चोरी डकैतीमा कमी आउने र सभ्य तथा सु-संस्कृत समाज बनाउन टेवा पुग्ने बताउनुभयो ।

पर्वतका निमित्त प्रमुख जिल्ला अधिकारी छबिलाल सुबेदीले प्रहरी नागरिकको साथी भएका कारण नागरिकको सहयोग बिना सुरक्षा असंभव भएको बताउनुभयो । नागरिक समाज र प्रहरी मिले मात्रै समाजका बिकृती र बिसंगती अन्त्य गर्न संभव छ भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले सबै पालिकाहरुको कार्यालय नजिक प्रहरी पोष्ट स्थापना गर्ने निति अनुसार फलेबासमा प्रहरी पोष्ट स्थापना गरिएको बताउनुभयो ।

बिहादी र महाशिला गाउँपालिकाका कार्यालय नजिक पनि प्रहरी पोष्ट स्थापना गर्नका लागि दरबन्दी स्विकृत भैसकेको र जनशक्तिको व्यवस्थापन गर्दै क्रमशः स्थापना गदै लाने कार्यक्रम रहेको डिएसपी अर्यालले जानकारी दिनुभयो । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले फलेबासमा बढ्दो ब्यबसायिक वातावरणका क्रममा शान्ति सुरक्षा कायम गर्न नयाँ चौकीले मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्