नीरफूलको फस्ट लुक



पत्रकार तथा फिल्म निर्देशकफूलमान बलद्वारा निर्देशित फिल्म नीरफूलको फस्ट लुक सार्वजनिक गरिएको छ। आगामी फागुन ३० गते अल नेपाल रिलिज हुने फिल्मको चार पोस्टरमार्फत्  फस्ट लुक सार्वजनिक गरिएको हो।

भूकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ भने यसमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राजलगायतले अभिनय गरेका छन्।

फस्ट लुक पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ। रुबी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने भूकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरूको संघर्ष र बिछोड देखाइएको छ।

निर्देशक बलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए। अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसका रूपमा हुने उनको दाबी छ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बल स्वयंले लेखेका छन् भने सचिन एसोसिएट निर्देशकका रूपमा पनि छन्। फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको निर्देशक बलले जनाए। फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन्।

निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत छन्। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ रहेका छन्

 

 

प्रतिक्रिया दिनुहोस्