बाटोमै मरे चराउन ल्याएका साढे दुई सय भेडा

0
Shares

नरेन्द्र केसी, दाङ।

रुकुमपूर्वको भूमे गाउँपालिका १ लुकुमकी धर्मकुमारी पुनमा घरबाट निस्कदा जुन उत्साह थियो, त्यो अब बाँकी रहेन। चिसो छल्न बेंसी झारिएका भेडाहरु पुनः गाउँमा फर्काउँदा ठूलो संख्यामा थप गर्ने उहाँको चाहना यसपटक सफल भएन।

सोही गाउँकै धर्म बुढा पनि झण्डै एक सय भेडा थपेर फर्कने योजनामा हुनुहुन्थ्यो तर भएकै भेडा पनि जीवित राख्न नसकेपछि उहाँ निराश हुनुभएको छ। अर्का भेडाधनी रामकृष्ण पुन र तिलम पुनलाई पनि लागेको थियो– यसपटक भेडाको संख्या बढाएरै फर्कन्छौं तर उहाँहरु सफल हुनुभएन।

पुस १५ को रात निकै चिसो भयो। रोल्पा लिवाङनजिकैको लेकमा रहेका यी भेडीगोठाला मात्र होइन भेडासमेत चिसोले प्रभावित भए। बिहानदेखि क्रमशः भेडामा रोग देखिन थाल्यो र केही भेडा थलिए।

त्यहीबाटै केही भेडा मर्न पनि थाले। भेडा र भेडीगोठालाहरुको यात्रा रोल्पाबाट प्युठानको भू–भाग हुँदै दाङतर्फ प्रवेश गर्यो। यसबीचमा झण्डै एक सय भेडा मरिसकेका थिए।

माघमा दाङको घोराही १९ सैघा क्षेत्रमा आएका भेडाहरु मर्ने क्रम अझ बढ्यो। ‘दिनमा १०/१२ वटाको दरले अहिलेसम्म २५० जति भेडा मरिसकेका छन्’– पीडित किसान धर्मकुमारीले भन्नुभयो– ‘दिउँसो चराउन लैजाने र साँझ आएर खोरमा मरेका भेडा गाड्ने हाम्रो दिनदिनैको कामजस्तो भएको छ, यस्तो क्षति कहिल्यै भोगिएको थिएन, अब भेडापालन गर्न सकिदैन होला।’

उपचार थालिएपछि रोग नियन्त्रणमा आउँदै

रोगको संक्रमण फैलिएको लामो समय भए पनि शुक्रबारदेखि मात्रै उपचार थालिएको छ। ठूलो संख्यामा भेडा मरेको खबर सार्वजनिक भएपछि घोराही उपमहानगरपालिकाको पशु सेवा कार्यालय र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशुस्वास्थ्यकर्मीहरुको टोलीले उपचार थालेको हो।

‘हामीले उपचार थालेपछि रोग नियन्त्रण्मा आएको छ’– घोराही उपमहानगरपालिका पशु सेवा कार्यालयका अधिकृत श्रीधर अधिकारीले भन्नुभयो– ‘दैनिक १०/२० वटा भेडा मरिरहेकोमा हामीले उपचार शुरू गरेपछि दैनिक दुई÷तीनवटामा झरेको छ, अब रोग नियन्त्रणमा आउँदै छ।’

मरेका भेडालाई घोराहीमा ल्याएर पोस्टमार्टम गर्दा आन्द्रा र फोक्सोमा समस्या देखिएको छ। यसले विषाक्त घाँसको कारण हुनसक्ने अनुमान गरिए पनि थप अनुसन्धानका लागि प्रयोगशाला चाहिने भएकाले नमूना सुर्खेत पठाउन थालिएको उहाँले जानकारी दिनुभयो।

‘थप अनुसन्धानका लागि पशुरोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको छ, यसको रिपोर्ट आएपछि थप उपचार गरिने छ’– अधिकारीले भन्नुभयो। त्यसो त उपमहानगरपालिकाको पशु सेवा कार्यालय र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोली आइतबार पुनः घटनास्थल पुग्नेछ।

पशु सेवा विज्ञ केन्द्रका डा. बेदबहादुर केसीसहितको टोली सैघा जाने तयारी गरिएको उपमहानगरपालिकाका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभयो। शनिवार स्थानीय जनप्रतिनिधि र प्रहरीले क्षतिको मुचुल्का बनाएका छन्।