आविष्कार केन्द्रलाई विद्यार्थीको सहयोग

0
Shares

काठमाडौं (नेस)।

आफ्नो खाजाको रकम बचाएर काठमाडौँ चावहिलस्थित एपेक्स लाइफ स्कूल र त्यहाँ अध्ययनरत विद्यार्थीले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एक हजार पाँच प्रदान गरेका छन्।

कीर्तिपुरमा आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने र विद्यार्थीले केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम प्रदान गर्नुभयो।

नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न खोलिएको केन्द्रमा सरकारको नजर पर्न नसकेको अवस्थामा विद्यार्थीले खाजा रकमबाट बचाएको रकममा विद्यालयले समेत सहयोग गरी उक्त रकम प्रदान गरिएको निर्देशक न्यौपानेले बताउनुभयो।

सरकारले सहयोग गर्नुपर्ने व्यक्तिलाई रचनात्मक र सिर्जनात्मक काम भनेर साङ्केतिक रुपमा हामीले सहयोग गरेका हौ– विद्यालयका निर्देशक न्यौपानेले भन्नुभयो।

सो अवसरमा केन्द्रका सञ्चालक पुनले खोज अनुसन्धानमा राज्यले सहयोग नगरेको र न्यून ब्याजदरमा ऋणसमेत उपलब्ध नभएको अवस्थामा पनि जनस्तरको सहयोगमा अनुसन्धानका कार्यहरू भइरहेको उल्लेख गर्नुभयो।

केन्द्रमा विद्यार्थीले आफूले कुनै विषयमा अनुसन्धान गर्न चाहेमा आवश्यक सहयोग र सुविधा प्राप्त गर्नसक्ने उहाँले बताउनुभयो।

विसं २०४० सालमा स्थापना भएको यस विद्यालयमा एकदेखि दश कक्षासम्म करिब ४५० विद्यार्थी अध्ययनरत छन्। निर्देशक न्यौपानेका अनुसार विद्यालयले नेपाली संस्कार र आदर्श अनुरुप संस्कृत भाषा, नैतिक शिक्षाको पठनपाठनमा जोड दिएको छ।