घोराहीमा ‘ज्येष्ठ नगारिक उपचार घरदैलो कार्यक्रम’

वृद्धवृद्धा खोज्दै मेयरसहित स्वास्थ्यकर्मी घरघरमा

0
Shares

नेपाल समाचारपत्र, दाङ जसपुर।

‘नमस्कार बबाआमाहरू के गर्दैहुनुहुन्छ, सन्चै त हुनुहुन्छ नि ?’– घोराही उपमहानगरपालिका–४ को जसपुर डाँडामा यसरी हात जोडेर उपमहानगर प्रमुख नरुलाल चौधरी आँगनमा प्रवेश गरिरहँदा ७४ वर्षीय मेतसिंह कँवर योगी र उहाँका दुई श्रीमती पेटीमा चटाइ बिछ्याएर बसिसक्नुभएको थियो।

तीनै जनाले नमस्कार फर्काउनुभयो र सामान्य भलाकुसारीपछि स्वास्थ्य जाँच गराउन थाल्नुभयो। मेतसिंह ७४ वर्षका हुनुभयो भने उहाँकी जेठी श्रीमती कृष्णी ७६ वर्ष र कान्छी श्रीमती लीलालदेवी ६८ वर्ष।

बुढेसकालमा रोगले च्याँप्दै ल्याए पनि अस्पताल जान र नियमित स्वास्थ्य जाँच गर्न उहाँहरूले पाइरहनुभएको थिएन। स्वास्थ्य जाँच गर्दा जेठी श्रीमतीको रक्तचाप धेरै देखियो भने श्रीमान र कान्छी श्रीमतीमा श्वासप्रश्वासको समस्या। ग्यास्ट्रिक त सबैको साझा समस्या जस्तै नै देखियो।

ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच गर्न घोराही उपमहानगरपालिकाले यो वर्षदेखि थालेको ‘ज्येष्ठ नागरिक स्वास्थ्य जाँच घरदैलो कार्यक्रम’मा यसरी उहाँहरूले घरमै उपचार पाउनुभएको हो।

नगर प्रमुख चौधरीसहित घरघरमा पुगेका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै बढी बिरामीलाई औषधी दिए भने सबैलाई स्वास्थ्य परामर्श दिइयो।

स्वास्थ्य जाँचकै क्रममा धेरै यस्ता ज्येष्ठ नागरिक पनि भेटिए, जो न आजसम्म एकपटक अस्पताल गएका रहेछन्, न त औषधी नै खाएका रहेछन्। तर, पनि उनीहरू तन्दुस्त छन्।

घोराही ४ छेकवारकी ८२ वर्षीया टीका घर्ती त्यस्तै पात्र भेटिनुभयो, जो आजसम्म एक दिन अस्पताल नगएर पनि स्वस्थ जीवन बिताइरहनुभएको छ।

उहाँको पछिल्लो समयमा ढाड दुख्ने समस्या देखिएकाले स्वास्थ्यकर्मीले केही औषधी छाडे पनि जुन तरिकाले जीउनुभएको छ, त्यसरी नै रहन स्वास्थ्यकर्मीको सुझाब थियो।