भाइको वियोग बिर्सन सामाजिक अभियान : एक महिलाले दिइन् ६ सय बढीलाई नयाँ जीवन

0
Shares

नरेन्द्र केसी, दाङ।

चार वर्षअघि जापान जाने तयारीमा रहेका नेपालगन्जका विदुर खनालको २० वर्षको उमेरमा दुर्घटनामा परी निधन भयो। एक मात्र भाइ विदुरको निधनले दिदी सरीतालाई पीडा मात्र मात्रै दिएन, विक्षिप्त नै बनायो।

सबैभन्दा प्रिय भाइको निधनले उहाँलाई यति पीडा दियो कि जसले गर्दा उहाँ सडकमै पुग्ने अवस्थामा आउनुभयो।

क्रमशः आफ्नै प्रयास र घरपरिवारको सहयोगमा उहाँको स्वास्थ्य थप बिग्रन पाएन तर उहाँको दिमागमा नयाँ कुराले प्रवेश पायो– भाइको वियोग बिर्सन सामाजिक सेवा गर्ने।

त्यसका लागि उहाँले लक्षित समुदाय रोज्नुभयो– ‘सडक मानव र लक्ष्य लिनुभयो’– सबै सडक मानवलाई आश्रय दिने। नीलसागर आश्रम स्थापना गरेर सरीताले तीन वर्षकै अवधिमा ६ सय जनालाई नयाँ जीवन दिइसक्नुभएको छ।

जोखिम मोलेर यो काम गरे पनि सहज भने थिएन। शरूमा कागजी उद्देश्य मात्रै बोकेर जाँदा जिल्ला प्रशासनले संस्था दर्ता गर्न मानेन। अनि उहाँले दतै नभएको संस्थाका नाममा ८ जना बेसहारा नागरिक बलुटेर सेवा दिन थाल्नुभयो।

कार्यसमितिसहित उहाँलाई धेरैले सहयोग गर्न थाले र होटल भाडामा लिएर चलाइएको आश्रमले गति लिन थाल्यो। ‘यो थाहा पाएर प्रमुख जिल्ला अधिकारी आफैं आश्रममा पुगी काम गर्ने अनुमति दिनुभयो र संस्था दर्ताका लागि प्रक्रिया अघि बढाइदिनुभयो’ –खनालले ती दिन सम्झनुभयो।

१८ बालबालिकासहित २ सय ५० बेसहारा अहिले उहाँको आश्रममा छन् भने तीन सय जनाको पारिवारिक पुनर्मिलन भइसकेको छ। आश्रममा राखिएका मध्ये विभिन्न समयमा सात जनको मृत्युसमेत भएको छ।

घरमा सन्तान हुँदाहुँदै पनि मृतक ज्येष्ठ नागरिकको सद्गद् र किरिया गर्न कोही नआएपछि सरता आफैले दागबत्ती दिने र काजकिरिया गर्दै आउनुभएको छ।

आश्रमकै अगुवाइमा बाँकेका नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकालाई ‘सडक मानवमुक्त’ घोषणा गरिएको छ भने अहिले बर्दिया, पाल्पा र दाङमा पनि अभियान चलेको छ।

दाङको राप्ती गाउँपालिका ८ पिपरीमा आश्रम स्थापना गरी २५ जना बेसहारालाई सहारा दिएको नीलसागर आश्रमका दाङ शाखा संयोजक प्रकाश विष्टले जानकारी दिनुभयो।

उनीहरूमध्ये कतिपय गर्भवती महिलासमेत भेटिएका छन्, जो अलपत्र अवस्थामै रहेको बेलामा सडकमा बलात्कृत भएर गर्भवती भएका हुन्।

पछिल्लो समयमा यो अभियानलाई प्रदेश सरकारले पनि सहयोग गर्न थालेको छ। प्रदेश सरकारको ५ करोड बजेटमा नेपालगन्जमा २ सय बेसहारा नागरिक राख्ने गरी ३० कोठे आश्रम बन्दै छ। यो वर्षदेखि नै प्रदेश सरकारले तीन जना स्वास्थ्यकर्मी पनि पठाइदिएको छ।