शिवहरिप्रसाद भट्टराइ, राजविराज।
सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउनुपर्नेलगायत १४ बुँदे माग गर्दै ज्येष्ठ नागरिकहरूले मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन्।
दिउँसो १२ बजेदेखि कार्यालय घेराउ गरेका कारण गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहितका कर्मचारीहरूलाई दिनभर कार्यालयमै थुनेका हुन्।
साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय राजविराजबाट पुगेको प्रहरी टोलीले सुरक्षा घेरा बनाएर उनीहरूलाई कार्यालयबाट निकालेर इलाका प्रहरी कार्यालय सखडामा राखेको छ।
आन्दोलनकारी दिनभर प्रदर्शन गरेका छन् भने सोही क्रममा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सीसमेत भएको छ।
घम्साघम्सीको क्रममा प्रहरीको धक्का लागेर भुँइमा लड्दा ६८ वर्षीया घुरनीदेवी यादवको टाउकोमा चोट लागेर घाइेत भएकी छिन्। यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल पठाइएको छ।
वडा भेला–गाउँसभा पारदर्शिताले अविलम्ब गर, आर्थिक वर्ष ०७५–०७६ को आय व्याय सार्वजनिक गर, कृषकहरूलाई सुलभ तरिकाले बिउविजन–मलखाद्य उपलब्ध कर, करार कर्मचारको नियुक्ति प्रक्रिया सार्वजनिक गर, सूचना समयमा उपलब्ध गरलगायत १४ बुँदे माग राखेर ज्येष्ठ नागरिक आन्दोलित भएका हुन्।











प्रतिक्रिया