गृहमन्त्री–बेलायती राजदूत भेट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूतको रूपमा नियुक्त हुनुभएकोमा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिस गोरखाका केही समस्या रहेको बताउँदै उनीहरूको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गर्नुभयो।गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले गृहमन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ती क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताउनुभयो।

राजदूत निकोलाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै इतिहासदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आपूmहरू कृतज्ञ रहेको बताउनुभयो।

बेलायतमा बस्ने नपालीको समस्या तथा ब्रिटिस गोरखाका समस्याबारे आफूहरू गम्भीर रहेको बताउँदै अहिले धेरै समस्याहरू समाधान भइसकेको उहाँको भनाइ छ।
भेटवार्तामा राजदूत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने आश्वासन दिनुभयो।