संसद्मा ओपीसीको गुणस्तरले पायो प्रवेश

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

संघीय संसद्को सार्वजनिक लेखा समितिमा ओपीसी सिमेन्टमा गुणस्तरको विषयले प्रवेश पाएको छ। समितिमा बुधबार नेपाल गुणस्तर परिषद्ले ओपीसी सिमेन्टमा लागू गरिएको नयाँ मापदण्डको विषयमा विज्ञहरूसँग छलफल गरेको हो। समितिमा बोल्दै विज्ञहरूले गुणस्तर कम गर्ने गरी सिमेन्टमा कच्चा पदार्थहरूको परिणाम तलमाथि गर्न नहुने बताएका छन्।

समितिमा बोल्दै त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्री विभागका सह–प्राध्यापक डाक्टर नूतन भट्टराईले सिमेन्टमा म्याग्रेसियमको मात्रा ५ बाट ६ प्रतिशत पुर्याउन नहुने बताउनुभयो। यदि त्यसो गरिए त्यस्तो सिमेन्ट प्रयोग गरिएका ठुल्ठुला संरचनाहरू चाडै नै कमजोर हुने र भत्किने जोखिम हुने उहाँको दाबी छ।

‘सिमेन्टमा म्याग्नेसिमको मात्रा अधिकतम ३ प्रतिशत हुनु राम्रो हो। त्यसमा अलिक बढी गए ४–५ सम्म जान सकिन्छ। यतिसम्म जाँदा समस्या नपर्ने अनुसन्धानहरूले देखाएको छ। तर हाम्रोमा ५ पनि क्रस गरेर एकैपटक ६ मा पुर्याइयो। यसले समस्या ल्याउँछ कि भन्ने हो’ –उहाँले भन्नुभयो।

बैठकमा उपस्थित अर्का विज्ञ तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक गोकर्णबहादुर मत्राले पनि ओपीसी सिमेन्ट उत्पादनमा गरिएको पछिल्लो व्यवस्था उचित नभएको बताउनुभयो। प्राध्यापक मत्राले म्याग्नेसियमको मात्रा अधिकतम ५ प्रतिशतभन्दा बढी हुन नहुने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘जति धेरै म्याग्नेसियमको मात्रा हुन्छ त्यति धेरै सिमेन्ट कमजोर हुन्छ र कँक्रिटले बनाएको संरचनामा ५/६ वर्षदेखि नै असर देखिन्छ।’ उहाँले नेपाल भूकम्पीय जोखिममा रहेकाले संरचना बलियो बनाउने खालको मापदण्ड बनाउन सांसदहरूलाई आग्रह पनि गर्नुभयो।

समितिले गुणस्तर मापदण्ड परिवर्तन गर्नै पर्ने हो कि होइन ? अघुलनशील पदार्थको मात्रा एकैपटक शतप्रतिशत बढाउँदा सिमेन्टको गुणस्तर के हुन्छ ? भन्ने प्रश्नमा विज्ञहरूले अघुलनशील पदार्थ र म्याग्नेसियम अक्साइडको मात्रा बढाउन उचित नहुने सुझाव दिएका छन्।

विज्ञहरुको कुरा सुनेपछि समितिले परिषद्बाट ल्याएको गुणस्तरको नयाँ मापदण्ड स्वीकारयोग्य नभएको निष्कर्ष निकालेको छ। समितिको बैठकले ओपीसी सिमेन्टको गुणस्तर मापदण्ड २०५५ लाई परिमार्जन गरी ल्याएको नयाँ मापदण्ड २०७६ उपभोक्ता हित विपरीत भएको ठहर गरेको छ।

विभागले गत असार १८ गते पुरानो मापदण्डलाई परिमार्जन गर्दै ओपीसी सिमेन्टमा आईआरको मात्रा ४ प्रतिशत र एमजीओको मात्रा ६ प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरेको थियो। परिषद्ले गत असार १८ गते ओपीसी सिमेन्ट उत्पादन गर्दा प्रयोग गरिने अघुलनशील पदार्थको मात्रा बढाउने निर्णय गरेको थियो।

परिषद्ले अघुलनशील पदार्थको मात्रा २ बाट बढाएर ४ पुर्याएको छ भने सिमेन्ट उत्पादनमा प्रयोग हुने म्याग्नेसियम अक्साइडको मात्रा पनि बढाएर ६ प्रतिशतसम्म पुर्याएको छ। यसअघि २०५५ जेठ ५ गतेदेखि सिमेन्ट उत्पादनमा अघुलनशील पदार्थको मात्रा २ र म्याग्नेसियम अक्साइडको मात्रा अधिकतम ५ प्रतिशत हुनुपर्ने व्यवस्था थियो।