दुर्गाप्रसाद शर्मा, पर्वत ।
ऐतिहासिक महत्व बोकेको पर्वतको दक्षिणमा पर्ने लुमरेङकोट संरक्षणको पर्खाइमा बसेको छ ।
ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तब्य बनाउन सकिने संभावना रहेको पर्वतको बिहादी गाउँपालिका–५ उरामपोखरा स्थित लुमरेङकोट प्रचारप्रसार संरक्षणको अभाबमा ओझेलमा परेको हो ।
नेपाल एकिकरण पुर्व चौबिसे राज्यकालमा शक्तिशाली मानिएको लुमरेङकोटमा अहिले पनि हातहतियार देखि तरबारको आक्रमणबाट बच्न ढालको रुपमा प्रयोग हुने सामाग्रीहरु रहेका छन । यस्ता ऐतिहासिक तथा पुरातात्विक सामाग्रीहरु संरक्षणको अभाबमा हराउने खतरा बढेको छ ।
भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबिसे कालमा निक्कै शक्तिशाली मानिन्थ्यो । भुरे राजाको दरबार रहेको कोटमा अहिले पनि मन्दिर र सत्तल रहेको छ । सत्तलमा एउटा दराजमा युद्धमा प्रयोग भएका दरबार, खुँडा, गैंडाको छालाबाट बनेका ढालहरु रहेका छन । तर यी सामाग्रीमा रंगरोगन गर्दा यसको ऐतिहासिकता हराएको छ ।
कुनै कुनै हतियारमा सन १७३४ एडी लेखेको समेत भेटिएको स्थानिय अगुवा धनबहादुर थापाले बताउनुभो । पुरातात्विक महत्व बोकेका यस्ता सामाग्रीहरु हराउन थालेपछि स्थानिय तवरबाट संरक्षण्को प्रयास थालिएको उहाँले बताउनुभयो ।
तत्कालिन समयमा लुमरेङकोटका राजा चन्द्र सिंह निक्कै पराक्रमी रहेको पाइन्छ । उनका छोराहरु चतुर सिंह र भानुप्रताप सिंह रहेका बेला कुनै पनि राज्यले आक्रमण गरेर नियन्त्रणमा लिन सकेका थिएनन ।
तत्कालिन समयमा शक्तिशालि मानिने पैंयुकोटे राजाले जासुसी गरेर छोराहरु बिहादीको फाँटमा रोपाई गर्न गएको मौका छोपी लुमरेङकोटमा आक्रमण गरेका थिए । आक्रमणमा परेर चतुरसिंहको कोटममै मृत्यु भएको थियो भने एक जना छोराको बिच भागमा र एक जनाको रोपाइ गर्ने स्थानमा नै मृत्यु भएको थापाले जानकारी दिनुभयो ।

रोपाईका बेला बाजा बजाउन प्रयोग भएको दमाहा स्थानिय दमाई जातिको घरमा अझै पनि भेटिने उहाँको भनाई छ । त्यसपछि लुमरेङकोटको अस्तित्व समाप्त भएर पैयुकोटमा सरेको थियो ।
पर्वतको बिहादी, पैंयु गाउँपालिकाको अग्लो भूभागमा रहेको कोटबाट टाढाका दृश्यहरु देख्न सकिन्छ । यहाँ बनभोजका लागि टाढा टाढाबाट युबायुवतीहरु आउने गरेका छन । गत बर्ष प्याराग्लाईडिङ्गको सफल परिक्षण समेत गरिएको छ ।
यसलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न सकिने गाउँ पालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो । वनभोज र प्याराग्लाईडिङ्गको गन्तब्य बनाउनका लागि गाउँपालिकाले प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
लुमरेङकोट पुगेर पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीको संरक्षण गर्न आग्रह गर्नुभयो । यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तब्य बनाउका लागि प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।











प्रतिक्रिया