‘बलियो नेपाल’ बनाउन निजी क्षेत्रद्वारा प्रतिबद्धता व्यक्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बलियो नेपाल पहलको गत हप्ता औपचारिक रुपमा शुभारम्भ गरिएपश्चात् कुपोषणविरुद्धको चौतर्फी साझा लडाइँमा निजी क्षेत्रबाट बुधबार पहिलो कदम चालिएको छ।
बलियो नेपालको नवीन सोच, बहुविविध क्षेत्रहरुमा निर्भर रहेको समग्र नेपाली समाजलाई एकसाथमा ल्याउन व्यवसायीहरुको पहिलो समूहले यस अभियानमा आफ्नो संलग्नता जनाउँदै आएको छ।

उनीहरुले देशमा व्याप्त चिरकालिक कुपोषणलाई न्यून गर्ने बलियो नेपालको प्रयासमा उनीहरुको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। बलियो नेपालसँग आबद्धता जनाउने निजी क्षेत्रका पहिलो साझेदारहरुमा प्रमुख खाद्य निर्माताहरु, सेवा क्षेत्रका कम्पनीहरु र उत्पादकहरु समाविष्ट छन्।

मेगा बैंक, निम्बस होल्डिङस्, ठमेल रेमिट र त्रिवेणी इन्जिनियरिङ जस्ता विविध क्षेत्रका व्यवसायीहरुले लुकेको भोकविरुद्धको अभियानमा समर्थन गर्ने कटिबद्धता व्यक्त गर्दै राष्ट्र सम्पन्न बनाउन यो पहलकदमीले सहयोग गर्ने भएकोले यसमा सहभागी हुन आफूहरुको रुची रहेको समेत पुष्टि गरेका छन्।

अन्नपूर्ण होटलमा आयोजित उक्त समारोहको दौरान बलियो नेपालका अध्यक्ष डा. स्वर्णिम वाग्लेले कुपोषण विरुद्धको लडाईंमा यो समझदारी पत्र एउटा कोसेढुँगा पाइला भएकोमा जोड दिनुभयो।

उहाँले भन्नुभयो– ‘नेपाल अग्रणी राष्ट्र बन्न पुगेको छ जहाँ निजी क्षेत्रले समेत यस दिशामा अग्रसर देखाएर सरकारले लिएको कुपोषणविरुद्धको लडाईंको जारी पहलकदमीमा हातेमालो गरेको छ।’

बिएलसि र के एल दुगड ग्रुपले संयुक्त रुपमा बलियो नेपालसँग मिलेर ६ महिनादेखि २४ महिनासम्मका शिशुहरुका लागि लिटो शुरुवात् गर्ने जनाएको छ। अविनाश फार्मस् र श्रीनगर एग्रो फार्मले यो साझेदारीको साथ उनीहरुद्वारा उत्पादित अण्डा नेपालभर व्यापक रुपमा उपलब्ध गराउनेछन्। अन्य व्यवसायीहरुले यो बलियो नेपाल पोषण प्रवद्र्धन कार्यक्रमहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्र्नेे प्रतिबद्धता व्यक्त गरेका छन्।

झण्डै एक दर्जन कम्पनीहरुले कार्यक्रममा सहभागीता जनाएका छन् र बलियो नेपालसँग हरेकले बेग्ला बेग्लै समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा अविनाश फार्मस् प्रालि, भुरामल लुनकरणदास कँग्लोमेरेट (बिएलसि), हिमालयन बैंक लिमिटेड, केएल दुगड ग्रुप, मेगा बैंक नेपाल लिमिटेड, नबिल बैंक लिमिटेड, निम्बस होल्डिङ्स प्रा.लि., क्युएफएक्स (टिम क्वेस्ट), श्रीनगर एग्रोफार्म प्रा.लि.,अविनाश फार्मस् प्रा.लि. ठमेल रेमिट, र त्रिवेणी ग्रुप रहेका छन्।

Skip This