सरकारको निर्णयको विरुद्धमा जान्छौं ः देउवा



मोतीराम तिमल्सिना, काभ्रे।

सरकारले आइतबार सातवटै प्रदेशका प्रमुख हटाउने निर्णयको खिलापमा जाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ। ‘सरकारले गरेको निर्णयविरुद्ध जान्छांै’ –सभापति देउवाले भन्नुभयो।

सरकारले आइतबार मात्रै सातवटै प्रदेशका प्रमुख हटाउने निर्णय गरेको थियो। निर्वाचनको परिणाम आइसकेपछि नयाँ सरकार गठन नहुँदै देउवा नेतृत्वको सरकारले एकलौटी प्रदेश प्रमुख नियुक्ति गरेको थियो।

त्यतिबेला नै नेकपाले देउवा सरकारले नियुक्त गरेका सबै प्रदेश प्रमुख हटाउने चेतावनी दिएको थियो। तर पनि सरकार गठन भएको लामो समयसम्म प्रदेश प्रमुख हटाउने बारेमा सरकार केही बोलेको थिएन। कांग्रेसको आधिकारिक धारणा सार्वजनिक नभए पनि पार्टी सभापतिले सरकारको निर्णयको खिलाफमा जाने बताउनुभएको थियो।

तीन बिरामीसँग भेट

दोलखाबाट काठमाडांै आउँदै गरेको बस दुर्घटनाका घाइते मध्ये अस्पतालमा रहेका तीनजना बिरामी भेटेर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिन्धुपाल्चोक जानुभएको छ। ५० बिरामी अस्पताल आएका मध्ये अधिकांश डिस्चार्ज भई घर फर्किएका छन् भने केही अन्यत्र रिफर भएका छन्।

खुट्टा भाँचिएका जीवन खड्का, प्रवीण आले मगर र सविता थापालाई भेटेर पार्टी सभापति देउवा सिन्धुपाल्चोकमा आयोजना भएको कांग्रेसको कार्यक्रममा सहभागी हुन जानुभएको हो। घटना भए लगत्तै धुलिखेल अस्पतालमा नेकपा नेताहरू पार्वत गुरुङ, आनन्द पोखरेललगायत धुलिखेल अस्पताल पुगी घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। सोमबार बिहान सिन्धुपाल्चोक जाने क्रममा बाटो परेकाले अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्न अस्पताल भ्रमण गरेको देउवाले बताउनुभयो।

सभापति देउवाले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. रामकण्ठ माकजू, डिन राजेन्द्र कोजू, अस्पतालका विभिन्न विभागका प्रमुखले अस्पतालको सेवा र आपतकालीन उपचारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो। सोहिक्रममा सभापति देउवाले अन्य बिरामीलाई समेत भेट्नुभएको थियो। बस दुर्घटनामा १८ जनाको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्