जापान विकासको प्रमुख साझेदार ः राष्ट्रपति भण्डारी

0
Shares

राजविन थापा, टोकियो।जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको छ।
राष्ट्रपति भण्डारीको सम्मानमा हिजो सोमबार जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दाे मित्रकारूपमा जापानले सघाएको उल्लेख गर्नुभयो। उहाँले गोरखा भूकम्पमा उद्धार, राहत र पुनस्र्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो।

जापानी सम्राट् नारुहितोको गद्दी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उहाँले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना गर्नुभयो। राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएकाप्रति आफ्नो र नेपाली जनताका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नुभयो।

राष्ट्रपति भण्डारीले बनेपादेखि बर्दिबाससम्मको बीपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमुना भएको बताउँदै जापानी सहयोगमा सोमबार शिलान्यास भएको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणले सुरुङमार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उहाँले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्दै लगानीको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने विश्वास दिलाउनुभयो।

राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरैभन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने र काठमाडौं–नारिता सीधा उडान चाँडै हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले जापानमा रहेका नेपालीले यहाँको रोजगारी र शिक्षामा पुर्याएको योगदानका लागि धन्यवाद दिनुभयो।

कार्यक्रममा जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीका महासचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराउनुभयो। तोसिहिरो नेपाल–जापान संसदीय ग्रिडका अध्यक्ष पनि हुनुहुन्छ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदानप्रदान गराउने लक्ष्य रहेको जानकारी दिनुभयो। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो। राष्ट्रपति भण्डारीले मंगलबार गद्दी आरोहण समारोहमा भाग लिनुका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुहुनेछ।

 

Skip This